वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

बेझाड, पाल्पा, १५ माघ: धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी छ । कोही रित्तो हात निराश हुँदै घर फर्कन्छन् त, कोही काठको बाकसमा ।

परिवारको सुखद भविष्यको आशामा रामपुर नगरपालिका–६ तिलकपुरका ३७ वर्षीय डोलराज कुमाल तीन वर्ष अघि मलेशिया पुगे । उनी दुई छोरी र श्रीमतीको लालनपालन तथा साहुको ऋण तिर्न विदेशिएका थिए । उनले सोचेजस्तो भैदिएन वैदेशिक रोजगारी । कुमालको गएको असार १३ गते मलेशियामा निधन भयो । श्रीमान्ले धन कमाएर ल्याउँला र सुखसँग जीवन बिताउँला भन्ने श्रीमती जमुनाको सपना थियो, त्यो भताभुङ्ग भयो । एक्कासी काठको बाकसमा शव आएपछि श्रीमान् घर आउने प्रतीक्षामा दिन गनेर बसेकी जमुनाको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो ।

लाउँला खाउँला भन्ने उमेरमा भएको श्रीमान्को अकल्पनीय मृत्युको बज्रपातले ३५ वर्षीया जमुनालाई ‘न दिनमा भोक न रातमा निद्रा’ को स्थितिमा पु¥याइदियो । जमुनाकी दुई छोरी छन् । पन्ध्र वर्षकी जेठी छोरी कक्षा १० मा र चौध वर्षकी कान्छी छोरी कक्षा ८ मा पढ्छन् । दुई छोरी अहिले काकासँग बस्छन् । जमुना दिनभर मजदूरी गर्छिन् । सानो झुप्रोमा उनले अहिले एक्लो र निरस जीवन व्यतित गर्दै आएकी छन् । दाजुको वैदेशिक रोजगारीमा अचानक निधन भएपछि दुई छोरीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेको डोलराजका साहिँला भाइ कृष्णले बताए ।
जमुना आजभन्दा १८ वर्ष अघि डोलराजसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । दिनहुँ साहुको नमिठो वचन र चर्को ब्याजको पीडा सहन नसके पछि बाध्य भएर डोलराज विदेश पुगे । उनी विदेश पुगेपछि घरपरिवारमा खुशियाली छाएको थियो तर, त्यो खुशी चिरकालसम्म टिक्न सकेन ।
तीन वर्षसम्म विदेश बसेर कमाएको रकमले घरायसी खर्च र विदेश जाँदा लिएको ऋण चुक्ता गर्न नसकेपछि उनले ऋण तिर्न पुग्दो कमाएर मात्रै घर फिर्छु भनेर परिवारसँग वाचा गरेका थिए । श्रीमान्को मृत्यु हुनु दुई महिना अघि फोनमा अन्तिम पटक कुरा भएको जमुना सम्झिन्छिन् ।
जमुनाले भनिन् – “म सधैं घरायसी काममा अल्मलिएको हुन्थे । श्रीमान् वैदेशिक रोजगारीमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान्सँग नि धेरै कुरा फोनमा हुन्नथ्यो । हामी दुबैलाई साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता मात्र भइरहन्थ्यो ।”
मिलनसार स्वभावका छोरा डोलराजले आफूप्रति दर्शाउने गरेको मायालाई सम्झँदै बिलौना गर्छिन् ७० वर्षीय आमा गनि कुमाल । उनले भनिन् – “छोरासँग फोनमा कुरा गर्दा घर आउ भन्थें । उनी साहुको ऋण तिर्न सकेको छैन आमा, सबै ऋण तिर्न सक्ने भएपछि मात्र घर आउँछु भन्थे । राम्रो सँग बस्नू, बिरामी परे औषधिमूलो गर्नू भनेर सम्झाउँथे ।”
डोलराजका बुबा काला कुमाल ८२ वर्षको भए । उनी आफ्नो घरमा आउने जो कोहीसँग पनि छोरो गुमेकामा खिन्नता प्रकट गर्छन् । डोलराजको आकस्मिक मृत्युले कुमाल परिवार र आफन्तजनलाई नपुर्ने घाउ बनाइदियो ।
त्यस्तै, चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि उनको परिवार बिचल्लीमा छ । आठ महिना अघि वैदेशिक रोजगारीका लागि उनी कतारमा पुगेका थिए ।

गएको कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा गैरे भेटिएका थिए । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेका कारण दुई महिनापछि मात्र उनको शव नेपाल भित्रियो । गत पुस २ गते मात्रै उनको साँखरस्थित कालीगण्डकीको किनारमा दाहसंस्कार हुनसक्यो । गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते भएका रामपुर नगरपालिका–५ सुन्दरटोलका चन्द्रबहादुर परियार अब सदाका लागि अर्काको सहारामा जीवन बिताउन बाध्य भएका छन् । ऋण खोजेर साउदी पुगेको सात दिनमै उनी तीन तला माथिबाट खस्न पुगे । परिवारलाई सहारा दिन भनी विदेश हिँडेका उनी जीवनभर अर्काकै सहारामा बाँच्नु पर्ने बाध्यता आइलाग्यो ।
आश बोकी विदेशी भूमि जानेहरुमा कतिपय लास बनी आउँछन् । केहीको सुदिन फिर्छन् भने केहीले पाउनु दुःख पाउँछन् । चन्द्रबहादुरलाई पनि दुःखको पहाड आइलाग्यो । उनलाई अब जीवनभर अर्काको साहानमा बाँच्नुको विकल्प छैन ।
एक छोरा, एक छोरी र श्रीमतीको पालनपोषण गर्न र घरव्यवहार सहज रुपमा चलाउन अनेकौँ सपना बोकेर विदेश पुगेका चन्द्रबहादुर गएको सात दिनमै राति सुत्ने क्रममा तीन तलामाथिबाट खसेपछि अपाङ्ग भए । आफू अपाङ्ग भएर बाँच्नुको पीडा जति छ मनमा त्यो भन्दा दोब्बर पीडा उनलाई अब उपचार कसरी गर्ने भन्ने छ ।

‘जिन्दगी खरानी भयो हे बरै बग्यो नि तिरैतिर, जानेलाई हाइसुक्खै भयो हे बरै बाँच्नेलाई पिरैपिर’ भनै झै हालतमा छन् वैदेशिक रोजगारीमा जाने धेरैको । थुप्रैको परिवार उजाडिएको छ । विदेशी भूमिमै पनि लाखौँ नेपाली तड्पिएर बाँचिरहेका छन् । तैपनि राहदानी बनाउने र विमानस्थलमा वैदेशिक रोजगारीका निम्ति लामबद्ध भएर बस्ने युवाको सङ्ख्या दिनहुँ बढिरहेको छ ।