इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको आशंका

तेहरान, ३० पुस : इरानको राजधानी शहर तेहरान नजिकै सेनाको एक कार्गो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

उक्त विमान कार्गाे विमान रहेको भए पनि त्यस विमानमा १६ जना व्यक्ति रहेको आशंका गरिएको छ । तर त्यस विमानमा १० व्यक्तिमात्र सवार रहेका अर्काे एक समाचारमा जनाइएको छ ।

तर इरानी सेनाले दिएको जानकारीअनुसार सो विमानमा १६ व्यक्ति सवार रहेका थिए र तीमध्ये त्यस उडानका एकजना उडान इन्जिनियर मात्र जिवीत रहेका थिए ।

कार्गो बोइङ ७०७ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएपछि दुर्घटनाग्रस्त भएको इरान वायुयान संगठनका प्रवक्ता रेजा जाफार्जादेशले सरकारी सञ्चारमाध्यम आइआरआइबीलाई बताउनु भएको छ ।

आइआरआइबीले शुरुमा दिएको जानकारीअनुसार यस विमानमा १० व्यक्ति मात्र सवार रहेका थिए । तासनिम समाचार समितिका अनुसार सेनाको यो कार्गो विमानले काजकिस्तानको राजधानीबाट मासुजन्य खाद्य पदार्थ लिएर फर्किरहेको थियो ।

आल्बोर्ज प्रान्तको फाथ विमानस्थलमा अवतरण हुन लागेको यो विमानले एक भवनमा ठक्कर दिएपछि धावनमार्गभन्दा बाहिरपट्टी जबर्जस्ती अवतरण हुन लागेकोले दुर्घटनामा परेको आइआरआइबीले जानकारी दिएको छ ।