भक्तपुरमा तेस्रोे इलेक्ट्रोनिक्स मेला शुरु

भक्तपुरमा तेस्रोे इलेक्ट्रोनिक्स मेला शुरु

भक्तपुर, २६ पुस : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारबाट धेरै आशा गरेर औद्योगिक विकासका कामलाई ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

विद्युतीय सामग्री व्यवसायी सङ्घ भक्तपुरले आजदेखि भक्तपुरको सल्लाघारीमा शुरु गरेको ‘तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो २०७५’ को उद्घाटन गर्दै उहाँले विकास र समृद्धिका लागि मुलुकको औद्योगिक विकासमा जोड दिन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य एवं नेमकिपाका सचिव प्रेम सुवालले देशमा व्याप्त बेरोजगारी समस्या समाधान गर्न औद्योगिक क्षेत्रको विकास र व्यवसायको विस्तार आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, मोबाइल फोन इम्पोर्टस् एशोसिएशनका अध्यक्ष दिपक मल्होत्रा, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ३ का उपाध्यक्ष केपी अग्रवाल, व्यवसायी पुरुषोत्तम भण्डारी, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिलगायतले तीनवटै सरकारले कर लगाउँदा व्यवसायी र उपभोक्ता मारमा परेको धारणा व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष पुण्यराम खाताखोले उद्योग व्यवसायको विकासका लागि सरकारले सुरक्षित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

यही पुस ३० गतेसम्म चल्ने एक्स्पो अर्थात इलेक्ट्रोनिक्स व्यापार मेलामा उपभोक्तालाई सरल रुपमा एकै ठाउँमा इलेक्ट्रोनिक्सका सबै सामग्री पाउने गरी व्यवस्था गरिएको छ । मेलामा १७० भन्दाबढी कक्ष राखिएका छन् ।

त्यस्तै मेलामा भक्तपुरबाट उत्पादन हुने विभिन्न हस्तकलाको सामग्री, रेडिमेड, लुगा तथा कपडा, घरयासी सामान, फर्निचर अटोमोबाइललगायत सामग्रीको पनि बिक्री तथा प्रर्दशनी गरिएको मेला संयोजक एवं सङ्घका उपाध्यक्ष माधवप्रसाद प्रजापतिले जानकारी दिनुभयो ।

भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे र सिन्धुपाल्चोकका उपभोक्ताले अवलोकन गर्ने अनुमान गरिएको मेलामा उपभोक्तालाई १५ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यसैगरी मेलामा सांस्कृतिक फेशन सोलगायत विभिन्न सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय गायकगायिका र साङ्गीतिक ब्याण्डको प्रस्तुति, परम्परागत गीत तथा नृत्यको प्रतियोगितालगायत विविध मनोरञ्नात्मक प्रस्तुतिसमेत रहेको सङ्घका सचिव रुकेश रञ्जितले जानकारी दिनुभयो ।