२५ प्रतिशतले बढ्यो नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटक

सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी

काठमाडौं , २५ पुस: नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्या पौने २५ प्रतिशतले बढेको छ । सन् २०१७ को तुलनामा सन् २०१८ मा २४.७७ प्रतिशतले अन्तराष्ट्रिय पर्यटकको आगमन बढेको हो । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भित्रेका हुन् । यो सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतको बृद्घि हो । सन् २०१७ मा नेपाल भ्रमणका आउने विदेशी पर्यटकको संख्याको तुलनामा सन् २०१८ मा दुई लाख ३ हजार ७ सय ८५ जनाले बढी हो ।

सन् २०१८ मा हवाईमार्गबाट ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ पर्यटक नेपाल भित्रिएका छन् । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको संख्यामा गत वर्षको तुलनामा २५.१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै श्रीलंकाबाट आउने पर्यटकको संख्यामा ५५.७ प्रतिशत वृद्धि भएको छ भने सार्क मुलुकहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६.४ प्रतिशतले बृद्धि भएको छ । सार्क राष्ट्रका देशबाट मात्रै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ३ लाख १ हजार ९ सय ६३ पुगेको छ ।

त्यस्तै, नेपालका लागि दोस्रो प्रमुख स्रोत बजार चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६ सय २ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् जुन २०१७ को तुलनामा ४६.८ प्रतिशतको बृद्धि हो ।
यसैगरी थाइ, दक्षिण कोरियाली र जापानी पर्यटकको संख्यामा पनि २०१७ को तुलनामा क्रमशः ३६, ८.३ र ८.९ प्रतिशतले वृद्धि भएको छ। युरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या क्रमशः १५.६, २३.१ र २१.१ ले वृद्धि भएको छ ।
सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भई ९१ लाख ७ हजार ८५ पुगेको छ ।
त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यकटकको संख्या १५.१ प्रतिशतले बढेर ३८ लाख ४ सय ८ पुगेको छ ।

सन् २०१८ का अन्तिम दुई महिनामा नै करिब ४७ प्रतिशतको पर्यटन आगमन वृद्धि भएकाले भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिको लागि बलियो आधार समेत तय भएको छ ।