भिडियो प्रविधिद्वारा जलवायु परिवर्तनबारे कक्षा सञ्चालन

भिडियो प्रविधिद्वारा जलवायु परिवर्तनबारे कक्षा सञ्चालन

काठमाडौँ, २५ पुस: त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यमबाट जलवायु परिवर्तनबारे कक्षा सञ्चालन गरेको छ ।

विभागले अमेरिकाको बहाइयो स्टेट युनिभर्सिटीका प्रा लोनी जी थोमसनबाट जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ । केन्द्रीय विभागले मौसम र जलवायु परिवर्तनका बारेमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अनुभव दिन भिडियो प्रविधिबाट कक्षा सञ्चालन गरेको विभागका प्रमुख डा दीपक अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राध्यापक थोमसनले भिडियोको माध्यमबाट यही पुस २४ देखि आगामी वैशाख १० गतेसम्म विद्यार्थीलाई २९ वटा कक्षा अध्ययन गराउनुहुनेछ । सो कक्षामा विद्यार्थीले प्राध्यापक थोमसनसँग प्रत्यक्ष सवालजवाफसमेत गर्नेछन् । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विश्वका महत्वपूर्ण प्राध्यापकसँग प्रविधिको प्रयोगबाट कक्षा सञ्चालन गरेको भन्दै आगामी दिनमा प्रविधियुक्त कक्षाकोठा निर्माण गरेर यसप्रकारका शैक्षिक कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

विभागका प्रमुख डा अर्यालले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको अन्तर्राष्ट्रियरुपमा दक्षता बढाउन र जल तथा मौसम विषयमा ज्ञानको दायरा फराकिलो बनाउन भिडियो प्रविधिले महत्वपूर्ण अवसर प्राप्त भएको जानकारी गराउनुभयो । भिडियो कक्षामा २६ विद्यार्थीको सहभागिता रहेको छ ।