द टिम्बर कर्पाेरेशन र वन पैदावार विकास गाभेर ‘नेपाल वन निगम’ बनाउने

द टिम्बर कर्पाेरेशन र वन पैदावार विकास गाभेर ‘नेपाल वन निगम’ बनाउने

काठमाडौँ, १७ पुस: वन तथा वातावरण मन्त्रालयअन्तर्गतका द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

दुवै संस्थालाई मन्त्रिपरिषद्ले गत साउन १८ गते एक आपसमा गाभ्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार दुवै संस्थाका सञ्चालक समिति र कर्मचारीको संयुक्त बैठक बसेर गाभ्ने प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सो निर्णय लगत्तै मन्त्रालयले एकीकरण प्रक्रियाका सम्बन्धमा आवश्यक अध्ययन गर्न सहसचिव चन्द्रमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले दुवै संस्थासँग आवश्यक छलफल तथा अध्ययन गरी प्रारम्भिक प्रतिवेदन तयार गरेको र सोहीअनुसार गृहकार्य अघि बढेको सहसचिव श्रेष्ठले जानकारी दिनुभयो ।

गत मङ्सिर १३ गते दुवै संस्थाका सञ्चालक समितिको संयुक्त बैठकले संस्था गाभ्ने सम्बन्धमा विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार यही पुस ९ गतेको टिम्बर कर्पाेरेशनको विशेष साधारणसभाले दुवै संस्था गाभिदा सम्बोधन गर्नुपर्ने विषयका सम्बन्धमा आगामी सञ्चालक समितिको संयुक्त बैठकमा छलफल गर्ने निर्णय गरेको थियो ।

साथै संस्था गाभ्ने र गाभिएपछि बन्ने नयाँ संस्थाको काम तथा सञ्चालन सम्बन्धमा प्रदेशस्तरमा समेत राय सुझाव लिन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । एकीकरणपछि बन्ने संस्था कम्पनीका रुपमा रहने र त्यसका लागि प्रबन्ध पत्र तथा नियमावली तयार भइसकेको छ ।

एकीकरणका सम्बन्धमा दुवै संस्थाले कर्मचारीका राय सुझावसमेत सङ्कलन गरिसकेको जनाएका छन् । यही पुस ४ गते भएको दुवै संस्थाका कर्मचारीको संयुक्त बैठकले वनजङ्गलबाट निस्कने गोलिया काठ, दाउरालगायत आयोजना÷परियोजना, साझेदारी वन व्यवस्थापनको उत्पादन, सदुपयोग र वन विकासका कार्य नयाँ बन्ने संस्थामार्फत गर्न गराउन सम्बन्धित कानूनमा व्यवस्था गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

समायोजनमा एक तह बढुवा गर्नुपर्ने, कर्मचारीको बढुवाका लागि सम्भावित उम्मेदवारलाई तह तह बढुवा गरी नयाँ बन्ने निकायमा समायोजन गर्न र एकीकरण पूर्वस्वेच्छिक अवकाशको अवसर प्रदान गर्न व्यवस्थापनलाई आग्रह गर्ने निर्णय भएको थियो ।

हाल टिम्बर कर्पाेरेशनमा करीब ९० स्थायी र ७५ ज्यालादारी कर्मचारी छन् । वन पैदावारमा ८८ स्थायी, १९ करार र १७८ वन रक्षक (दैनिक ज्यालादारी) कार्यरत छन् । दुवै संस्थाको सम्पत्ति र दायित्वको विश्लेषण (डिडिए) गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयका सहसचिव एवं वन पैदावारका कार्यकारी अध्यक्ष चन्द्रमान डङ्गोलले जानकारी दिनुुभयो । उहाँले नयाँ बन्ने संस्थामा नेतृत्वमा प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था हुने बताउनुभयो ।

शुरुमा सरकारले एकीकरण भएको संस्थाको नाम ‘वन पैदावार विकास एवं बिक्री वितरण केन्द्र’ राख्ने निर्णय गरे पनि पछि नाम लामो भएको भन्दै ‘नेपाल वन निगम’ बनाउने सहमति भएको हो । टिम्बर कर्पाेरेशनका महाप्रबन्धक राजु लौडारीले मन्त्रालयको प्रयासले काम एकीकरणको काम तिब्र रुपमा अघि बढेको जानकारी दिनुभयो । उहाँले एकीरकण छिटो सक्ने गरी काम अघि बढेको र नयाँ संस्थाका लागि सङ्गठन र व्यवस्थापन अध्ययनको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
आगामी सातासम्म सम्पत्ति र दायित्वको विश्लेषण प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो । हाल कर्मचारीको पद टिम्बरमा तहगत रुपमा छन् भने वन पैदावारमा श्रेणीको व्यवस्था छ । समितिको केन्द्रीय कार्यालयलाई नयाँ गठन हुने निकायको एक महाशाखाको रुपमा कायम राखी आयोजना÷परियोजनाको समन्वय गर्ने जिम्मेवारी दिनुपर्ने वन पैदावारका अधिकृत अमरबहादुर चन्दले बताउनुभयो ।