दसैंमा के खाने र के नखाने मुटुका रोगीले ?

दसैंमा के खाने र के नखाने मुटुका रोगीले ?

यसै पनि चाडपर्वमा अत्यधिक क्यालोरी, नुन, गुलियो खानेकुरा धेरै खाने गरिन्छ। दसैंको बेला नखाए कहिले खाने भनेर धेरै रातो मासु खाने चलन पनि छ। स्वस्थ व्यक्तिले पनि यस्ता खानेकुरा धेरै खाँदा समस्या निम्त्याउँछ भने बिरामीले दसैंजस्ता चाडबाडको समय खानेकुरामा अझ ध्यान दिनुपर्छ। यो समयमा पनि सन्तुलित भोजनमै जोड दिनुपर्छ।

दसैंको समयमा पनि सागपात, ताजा फलफूल, तरकारी, पर्याप्त पानी पिउने गर्नुपर्छ। आजकाल व्यस्तताको कारण देखाउँदै शारीरिक व्यायाम नगर्ने चलन छ। दसैं छुट्टीको समयमा पनि व्यायाम, शारीरिक अभ्यास गर्ने गनुपर्छ।

मुटुका बिरामीले त झन् विशेष ध्यान दिनुपर्छ। मुटुका बिरामी भन्नेबित्तिकै सबै एकै प्रकारका रोगी हँुदैनन्। रोगअनुसार सबैलाई फरकफरक खाना बार्नुपर्ने हुन्छ। सबै मुटु रोगीलाई चिल्लोपिरो बार्नु नै पर्छ भन्ने हुँदैन। धेरै खानुपर्ने वा कम खानुपर्ने धेरैथरीका रोगी हुन्छन्।

मुटु रोगीलाई धेरै खानेकुरा, माछामासु, अण्डा खान दिनु हँुदैन भनेर खानै नदिने पनि गरिन्छ। तर, सबै मुटु रोगीमा यसो गर्नु गलत हो।

बाथ ज्वरोका बच्चालाई हुने मुटु रोग हो। ५ देखि १५ वर्ष उमेरका बाथ ज्वरोका बिरामी बच्चालाई मासु, चिल्लो, अण्डा दिनु हुँदैन भनेर केही खानै नदिँदा उल्टै कुपोषणका सिकार भइरहेको पनि देखिएको छ।

मुटुको भल्ब खराबीको रोग छ, मुटु खराब छैन भने उनीहरुले खासै केही बार्नु पर्दैन। तर, मुटुको भल्बमा खराबी भएका बिरामीले भने खानेकुरा बार्नुपर्छ।

भल्बको समस्या छ, हार्ट फेलियर छ भने पानी एकदम कम खाने अर्थात् दिनमा दुई लिटर भन्दा कम पानी पिउने, नुन कम खाने, चिल्लोपिरो कम गर्ने गर्नुपर्छ। उच्च रक्तचाप भएका मानिसले पनि नुन, चिल्लो खाने गर्नुपर्छ।

नुन कम खाने अर्थात् दिनमा पाँच ग्रामभन्दा कम नुन खानेभन्दा कसरी नाप लिने भन्ने जिज्ञासा हुनसक्छ। एकजनाले पाँच ग्रामभन्दा कम भनेपछि एक महिनामा १५० ग्राम भयो। ६ जनाको परिवारमा एक केजी नुन जान्छ भने ठिकै हो। त्यसरी अनुमान गर्न सकिन्छ।

तेल पनि एकजना स्वस्थ मानिसको लागि महिनामा एक लिटर ठिक हुन्छ। तर, मधुमेह, मुटुको बिरामी भएको घरमा एक लिटरभन्दा कम नै प्रयोग गर्नुपर्छ।

मासु सकेसम्म कुखुरा, माछाको खानुपर्छ। खसीको मासु खाँदै नखाने भन्ने त होइन। तर, खानै परे निकै कम, त्यो पनि छाला निकालेर मात्र खानुपर्छ। बोसो, छाला भएको मासु टेष्टी हुन्छ। जिब्रोमा मिठास भए पनि त्यस्तो मासुले स्वास्थ्यमा समस्या ल्याउँछ। छाला, बोसो नखाएको राम्रो हो मुटुका लागि। बिरामीले २÷३ टुक्रा खाएर खासै फरक पर्दैन। सामान्य व्यक्तिले मासु मिठैसँग पकाएर खाँदा हुन्छ तर धेरै नखाने मात्र हो।

दसैंमा धेरै मासु खाने, तारेको, भुटेको, भित्रीलगायतको मासु धेरै खाने गरिन्छ। मासु निकै कम खाने, बढी हरियो सागपात, फलफूलमा जोड दिनुपर्छ। मासुमा कम तेल राखेर राम्रोसँग पकाएर खान हुन्छ।

गुलियो कम खाने गर्नुपर्छ। चाडवाडमा गुलियो धेरै प्रयोग हुन्छ। जसले तौल बढाउने, कोलेस्टोल बढाउँछ।

हामीकहाँ खाना खाँदा भातको मात्रा निकै बढी हुन्छ। दाल राख्ने कचौराको एक कचौरा भात खाने गर्नुपर्छ। हाम्रो नेपाली खानामा भातको मात्रा कम गर्ने हो भने निकै स्वस्थ्यवद्र्धक हुन्छ।
चिकित्सकले बिरामीको रोग र अवस्था हेरी खान हुने÷नहुने, बार्नु पर्ने÷नपर्ने सम्झाएर पठाएका हुन्छन्।

दसैंमा धेरै रक्सी, मासु खाएर बिरामी हुनेको संख्या पनि बढी नै हुन्छ। दसैंका समयमा हृदयघातलगायतका मुटुसम्बन्धी समस्या भएर अस्पताल आउने धेरै हुन्छन्। त्यसमा ४० वर्ष आसपास र त्योभन्दा बढी उमेरका व्यक्तिको संख्या बढी हुन्छ।

दसैंको समयमा बिरामी भएर कम मान्छे अस्पताल आउनुनपर्ने हो तर हामीकहाँ इमरजेन्सीमा मुटुमा समस्या लिएर आउने बिरामी धेरै हुन्छन्। गंगालालमा दिनमैं ठूलो खालको हृदयघात भएर आउने बिरामीको संख्या ३/४ हुन्छ।

मुटुको विभिन्न रोगमध्ये क्रोनरी मुटु रोग भन्ने हृदयघात बढ्दै छ। एउटा बढ्दै छ भने अर्को कम उमेरका मान्छेलाई हुँदैछ। पहिले ४० वर्षभन्दा कम उमेरकालाई विरलै हुन्थ्यो तर अहिले २४/२५ वर्षभन्दा कम युवामा यो रोग देखिँदै छ।

हामीलाई चिन्ता छ, अहिलेका बच्चाहरुको एक्टिभिटी र खाना हेर्दा यो उमेर झन् अघि सर्छ भन्ने छ। किनकि यो सम्भावना धेरै छ। वृद्धवृद्धालाई शाकाहारी भोजनमा जोड दिनुपर्छ।

मुटुको भल्बसम्बन्धी समस्या सहरी क्षेत्रमा घटेको छ। ग्रामीण क्षेत्रमा बढी देखिएको छ। आर्थिक, मेडिकल पहुँच, सुविधा राम्रो भएको र पोषण सहरमा राम्रो भएकोले यो समस्या कम छ। गाउँमा अझै पनि उच्च नै छ।

जन्मजात हुने मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप पछिल्लो समय झन् बढेको छ। हामीले १०÷१२ वर्षअघि गरेको सर्भेले २० प्रतिशतमा उच्च रक्तचाप थियो भने केही समयअघि गरिएको सर्भे ३० प्रतिशतभन्दा बढी युवामा उच्च रक्तचाप बढेको देखिएको छ। स्ट्रोक पनि अर्को समस्याको रुपमा देखिँदै गएको छ।

रेस्टुरेन्टमा पाइने जंकफुड, प्याकेटको खानेकुराको प्रयोग बढ्दो छ। यसले पनि समस्या बढाउँदै छ। खासमा हृदयघाट एकैपटक आउँछ भनिन्छ, तर त्यस्तो होइन। यो त अरु बेलाको जीवनशैलीमा भर पर्छ। त्यसैले दसैंको समयमा पनि नियमित जस्तै हल्का र स्वस्थ खाना खाउँ। धुमपान र मदिरापानबाट टाढै बसौँ। शारीरिक व्यायाम गरौँ।

– (डा दीवाकार शर्मा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मुटुरोग विभाग प्रमुख प्राध्यापक हुन्।)