स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान

hospital

विराटनगर, २७ साउन:  विराटनगर महानगरपालिका–१४ बस्ने ७२ वर्षीय जगदीशप्रसाद यादवले वडा स्वास्थ्य चौकी निर्माणका लागि रु ५० लाख मूल्यबराबरको जग्गा आज महानगरपालिकालाई हस्तान्तरण गर्नु भएको छ । महानगरपालिकामा आयोजित कार्यक्रममा जग्गादाता यादवले विराटनगर–१४ स्थित जतुवामा रहेको दुई कट्ठा १० धुर जग्गा प्रदान गर्नुभएको हो ।

महानगरपालिकाका तर्फबाट प्रमुख भीम पराजुली र जग्गादाता यादवले सो स्वास्थ्य चौकी निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । महानगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी निर्माण गर्ने लक्ष्यअनुसार सो जग्गामा आगामी भदौदेखि स्वास्थ्य चौकी निर्माण गरिने महानगरपालिकाका प्रमुख पराजुलीले बताउनुभयो । भवनका लागि महानगरपालिकाले तत्काल रु ५० लाख बजेट विनियोजन गरेको छ । वडाध्यक्ष बलदेव यादवले जग्गा प्रदान गर्नुहुने यादवलाई धन्यवाद दिँदै महानगरको विकासमा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।