आलेख ः पुनःनिर्माण गर्न चाहनेले पाएनन् पशुपति क्षेत्रका सम्पदा

Pashupati-temple--02

–पूर्णप्रसाद मिश्र (रासस)
काठमाडौँ, ७ असार  : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिरमा भक्तजनले तीन वर्षदेखि यस्तो सूचना पढ्दैआएका छन् – ‘भूकम्पका कारण मन्दिर पूर्णरुपमा क्षति हुन पुगेकाले प्रवेश निषेध गरिएको छ ।’
यो मन्दिरको पुनःनिर्माण कहिले हुन्छ होला भन्ने खुल्दुली मन्दिर क्षेत्रमा पुग्ने अधिकांश मानिसको मनमा जाग्छ । पशुपति र गुह्येश्वरीबीचको मृगस्थली जंगलमा रहेको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको थियो । भूकम्पले धुजा धुजा भएको मन्दिर त्यसै वर्ष भदौ ४ गतेको वर्षाले ढल्यो ।
भत्किएका ईंटा मन्दिर परिसरमा असरल्ल छोडिएको छ । भत्किएको मन्दिर वरपर उन्यु र तीतेपातीको घारी उम्रिएको छ । ढलेको मन्दिरका संरचना घारीले घेरिएको छ । मूलद्वारबाट छिरेपछि देखिने ठूलो घण्ट ढलेको छ । मन्दिरमा रहेका पुरातात्विक महत्वका मूर्ति यत्रतत्र पल्टिएका छन् ।
मन्दिरको सुरक्षाका लागि तीनपुस्तादेखि पहरा दिँदै आउनुभएका सुनिल थापा मन्दिर ढलेदेखि पूजा समेत बाहिरै हँुदै आएको बताउनुहुन्छ । मन्दिर घेरेर बनाइएको पूर्व र दक्षिणको सत्तल जीर्ण भएर छिर्न नसकिने अवस्थामा छ । पश्चिम र उत्तरतिरको सत्तलमा सुरक्षाकर्मी एवम् केही साधु बसेका छन् ।
मन्दिर परिसरमै जन्मेर जीवनको आधा समय यसैको सुरक्षामा बिताउनुभएका थापाले पुनःनिर्माण छिटो होस् भन्ने कामना गरेपनि भगवान्ले नै नसुनेको गुनासो गर्नुहुन्छ । परम्परादेखि तीन जना सुरक्षाकर्मी बस्दै आएको मन्दिरमा पछि प्रहरी पहरा गणका पाँच जना पनि थपिएका छन् ।
दुई रोपनी क्षेत्रफलमा फैलिएको मूल मन्दिरको बाहिरी परिसरबाट पहिरो जान थालेको छ । बाहिरी परिसरको उत्तर, पूर्व र दक्षिणबाट वर्षौँअघिदेखि पहिरो जान थाले पनि रोक्न कुनै पहल गरिएको छैन ।
मन्दिरको दक्षिण पूर्वी कुनामा रहेको इनारले धेरै जनाको जीवनलीला समाप्त गरेको थापा बताउनुहुन्छ । “मन्दिर परिसरमा बस्ने सबैले खाने पानी यही हो, मानिस छिरेर मरेपछि सबै पानी निकालेर सफा गर्नुपर्छ, पटक पटक मानिस डुबेर मर्न थालेपछि ब्राह्मण बोलाएर रुद्राभिषेक नै गर्नुप¥यो” – उहाँले भन्नुभयो ।
पानी शुद्ध बनाउन गोसाइँकुण्ड क्षेत्रका १०८ कुण्ड, दामोदरकुण्ड, मुक्तिनाथ, हरिद्वार, यमुनोत्री, गंगोत्री, बनारसगंगा लगायत तीर्थस्थलका जल ल्याएर हालिएको छ । पहिले इनारबाट पानी तानेर राख्ने ट्यांकी बनाइएकामा हाल जीर्ण भएर पानी राख्न नसकिने भएको छ ।
मन्दिरको सुरक्षामा खटिनुभएकी प्रहरी पहरा गणकी प्रहरी सहायक निरीक्षक पासाडिकी शेर्पा मन्दिरको गजुरलगायत पुरातात्विक चीजबीज सानो कोठामा बन्द गरेर ताला लगाउँदा जोगाउन गाह्रो भएको बताउनुहुन्छ । कोठाको साँचो भने पशुपति क्षेत्र विकास कोषले नै राखेको छ ।
“पुरातात्विक महत्वका चीजबीज कोषको कार्यालयमै राखे राम्रो हुन्छ, यहाँ वरिपरिका भवन जीर्ण रहेकाले सुरक्षा खतरा छ” – उहाँले भन्नुभयो । पशुपति क्षेत्रमा रहेका धेरै मठ मन्दिर एवम् शिवालय देवालयमध्ये आय स्रोत र गुठी नभएकालाई कोषले वास्ता नगर्ने यहाँ बस्दैआएकाहरुको गुनासो छ ।
यसो त यो मन्दिर बनाउन दाता नआएका पनि होइनन् । भूकम्प जानु अघिदेखि नै नेपाल महर्षि वैदिक फाउन्डेसनले दक्षिण पश्चिमको सत्तल भाडामा लिएर विश्व शान्तिको संकल्पले वैदिक रुद्राभिषेक शुरु गरेको थियो । फाउन्डेसनले भूकम्प जानु अघिदेखि नै पुनःनिर्माण गरी वैदिक केन्द्र स्थापनाको प्रस्ताव राखेको बताउनुहुन्छ कोषका तत्कालीन सदस्य सचिव डा गोविन्द टण्डन ।
“भूकम्पपछि पनि फाउन्डेसनले पुनःनिर्माणको प्रस्ताव राख्यो, तर कोषको कार्यसम्पादन समितिले निर्णय नगरेकाले सम्झौता हुन सकेन” – उहाँले भन्नुभयो ।
पुरातात्विक स्थल ढलेर उन्यु घारीमा परिणत हुँदा पुनःनिर्माण गर्नुपर्ने जिम्मेवारी बोकेको संस्था न आफू काम गर्छ न गर्न चाहनेलाई दिन्छ । यस्तो दुर्दशा छ पशुपति क्षेत्रको ।
कोषका सदस्य सचिव डा प्रदीप ढकाल चालू आर्थिक वर्षमै विश्वरुप पुनःनिर्माणको प्रक्रिया शुरु गरिने बताउनुहुन्छ ।
जयबागेश्वरीको पाल फेरेर चलाइँदै
जयबागेश्वरी मन्दिरको छानो पालले ढाकिएको छ । टुँडाल र इट्टा धमाधम झर्न थालेका छन् । चारैतिर चर्किएर प्वाल परेको मन्दिर देख्दा लाग्छ यो ढल्ने क्षण कुरेर बसेको छ ।
कोष कार्य सम्पादन समितिको विसं २०७२ वैशाख ३१ गतेको बैठकले एड्भेन्चर आउटडोर ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका सञ्चालक कल्याणराज शर्मालाई जयबागेश्वरी मन्दिर पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दियो ।
एड्भेन्चरले बनाएको ड्रइङ, डिजाइन पुरातत्व विभागले २०७३ कात्तिक ७ गते स्वीकृत ग¥यो । त्यसै वर्ष पुस १२ गते कोष र एड्भेन्चरबीच जयबागेश्वरी पुनःनिर्माणको सम्झौता भयो । एक वर्ष ढिला गरी २०७४ पुसमा काम शुरु गर्न क्षमा पूजा गरी मन्दिरलाई जस्ताले बारियो । केही काम शुरु भएकामा स्थानीयवासीले सिमेन्टको प्रयोग गरिएको भन्दै विरोध जनाएपछि रोकियो ।
सम्झौता अनुसार पुनःनिर्माण भएको भए गत पुसमै यो मन्दिर बनिसक्ने थियो । सम्झौतामा एक वर्षको अवधि उल्लेख छ । नसकिए छ महिना थप्न सकिने प्रावधान छ । समय थप्दा पनि २०७५ असारमा मन्दिर पुनःनिर्माण सकिन्थ्यो ।
पुनःनिर्माणको सम्झौता भइसकेपछि उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउँदा सडक खनिएकाले मन्दिरमा थप क्षति पुगेको छ । सडक नजिकै मन्दिर छ । दैनिक हिँड्ने सवारी साधनले जीर्ण मन्दिरमा क्षति हुँदै जाने निश्चित छ ।
पुनःनिर्माणको जिम्मेवारी पाउनुभएका शर्मा क्षमा पूजाका लागि हेर्नुपर्ने साइत र मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन सडक खनेकाले समयमै काम शुरु गर्न नसकिएको दावी गर्नुहुन्छ । काम शुरु गरेपछि पनि स्थानीयवासीले अवरोध गरेको उहाँको भनाइ छ ।
निर्माणको अनुमति पाउनुभएका शर्माले बनाउन लगाएको नक्साको रुप रंग केही नमिलेपछि मन्दिर बिग्रने देखेर पुनःनिर्माणको विरोधमा उत्रनुपरेको स्थानीयवासी एवम् इन्जिनीयर बिनीता मगैयाले बताउनुभयो ।
दाता शर्मा केही समय टिकाउन मात्र सिमेन्ट प्रयोग गरिएको बताउनुहुन्छ । “पहिले बनाउँदा माथिल्लो तलामा सिमेन्ट प्रयोग गरिएको छ, हामीले पुनःनिर्माणका लागि भत्काउँदा सुरक्षित होस् भनेर सिमेन्ट लगाएका हौँ, क्षमा पूजा गरेर पुनःनिर्माण शुरु गर्दा रु छ लाख खर्च भइसकेको छ”–उहाँले भन्नुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं ८ का अध्यक्ष दीनेश डंगोल दाताले मन्दिर पुनःनिर्माणको स्वीकृति पाएपछि अहिलेसम्म पालले छोपेर जीर्ण अवस्थामै रहनुले समग्र सम्पदा पुनःनिर्माणको चित्र झल्काउने बताउनुहुन्छ ।
मन्दिर जीर्ण भएकाले पूजा गरुञ्जेल पनि त्रासमा बस्न बाध्य हुनुपरेको पुजारी हंसराज कर्माचार्यको गुनासो छ ।
कोषले पुनःनिर्माणकै जिम्मेवारी दिएको मन्दिर दाताले जीर्णोद्धार गर्न थालेपछि रु ५० लाख भन्दा बढी खर्च गर्न सक्दिन भनेको स्थानीय हरिओम वैद्य बताउनुहुन्छ । तीन वर्ष अघि र पछिको बजेटमा फरक परेकाले पूरा पुनःनिर्माण गर्न नसकेर सहयोग स्वरुप रु ५० लाख दिने प्रस्ताव गरेको शर्मा बताउनुहुन्छ ।
सम्झौता खारेज
विश्व सम्पदा सूचीमा सूचीकृत जयबागेश्वरी मन्दिरको पुनःनिर्माणका लागि दातासँग गरिएको सम्झौता कोषले गत फागुन अन्तिम साता खारेज ग¥यो ।
भूकम्पको ३५ महिना बित्दा पनि सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण शुरु गर्न नसकेपछि कोष कार्य सम्पादन समितिको बैठकले सम्झौता खारेज गरेको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।
“बैठकले दाताले दिन्छु भनेको सहयोग पनि नलिने निर्णय गरेको छ, स्थानीयवासीले पनि पुनःनिर्माण गर्न पाऊँ भनी अनुरोध गरेका छन्, अब जगबागेश्वरी पुनःनिर्माणको जिम्मेवारी कसैलाई नदिई प्राधिकरणको सहयोग लिई कोष आफैँले गर्छ” – उहाँले भन्नुभयो ।
मन्दिर पुनःनिर्माणको जिम्मेवारी लिनुभएका दाता शर्माले बनाउन सक्दिनँ सम्झौता रद्ध हुनुपर्छ भनी निवेदन दिनुभएको थियो । उहाँले रु ५० लाख भने कोषलाई दिने निवेदनमा उल्लेख गर्नुभएको थियो । सम्झौता खारेजीको विषय प्राधिकरणलाई जानकारी गराइसकिएको कोषले जनाएको छ ।
गौरीघाट चार शिवालयको अवस्था उस्तै
कोषले २०७३ माघ ६ गते गौरीघाटको चार शिवालय र सत्तल पुनःनिर्माणका लागि रविन्द्र पुरी (आर. पी. फाउन्डेसन) बीच २३ बुँदे सम्झौता भयो । सम्झौतापछि १७ महिना बितिसक्दा पनि काम शुरु हुन सकेको छैन ।
तीन वर्षमा पुनःनिर्माण भइसक्नुपर्नेमा सम्झौता भएको डेढ वर्षसम्म काम शुरु हुने छाँटकाँट छैन । निर्माणको जिम्मा लिनुभएका पुरी पुनःनिर्माणको ड्रइङ डिजाइन पुरातत्व विभागले स्वीकृत नगरेकाले काम शुरु गर्न नसकिएको बताउनहुन्छ ।
“विभागले स्वीकृत दिएको भोलिपल्ट पुनःनिर्माण शुरु हुन्छ, पशुपतिमा पुनःनिर्माण शुरु भएका सम्पदामध्ये चार शिवालय र सत्तल उत्कृष्ट बन्छ” – उहाँले भन्नुभयो ।
भूकम्पले पशुपति क्षेत्रका ५१८ सम्पदामध्ये ९५ वटामा क्षति पु¥याएको थियो । पन्ध्र स्मारक पूर्ण रुपमा क्षति भएका थिए ।
पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चार सम्पदा बनाइएको निर्देशक मरासिनीले बताउनुभयो । हाल १५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् ।
भूकम्पले देशभर ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये अहिलेसम्म १०० वटाको मात्र पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।