बाटाजु स्मृति संगीत पुरस्कार बानियाँलाई

nepalhalkhabar-cover

पोखरा, ५ असार : ललितकुमार हेलकुमारी बाटाजु स्मृति संगीत पुरस्कार २०७५ पोखरेली गायक विनोद बानियाँलाई प्रदान गरिने भएको छ ।

संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित पुरस्कारको राशि रु ३० हजारसहित ताम्रपत्र रहनेछ । पोखरेली तबलावादक तथा शास्त्रीय गायक ललितकुमार बाटाजुले आफ्नो जीवनकालमै सोक्षेत्रमा लागेका स्रष्टालाई प्रोत्साहन दिने उद्देश्यका साथ रु तीन लाखको अक्षयकोष स्थापना गरी सो पुरस्कारको व्यवस्था गर्नुभएको थियो ।

पन्ध्र वर्षदेखि पोखरामै रही निरन्तर नेपाली गीत, संगीत र गायनमा क्रियाशील बानियाँलाई सो पुरस्कारका लागि सिफारिश गरिएको छनोट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । बानियाँका सयौँ गीत र एल्बम बजारमा आइसकेका छन् ।

विसं २०६३ मा स्थापना भई प्रत्येक दुई दुई वर्षमा वितरण गरिने सो पुरस्कारबाट यसअघि तबलावादक चन्द्रबहादुर बाटाजु, भैरव सांस्कृतिक संरक्षण समिति, मृदंगा वादक एवं संस्कृतिकर्मी कृष्णबहादुर वैद्य र संगीतकार कृष्णबहादुर श्रेष्ठ सम्मानित भइसक्नुभएको छ । (रासस)