छिमेकी देशमा केन्द्रित हुँदै पर्यटन प्रवद्र्धन

Tourist Guide

–रमेश लम्साल÷सिबी अधिकारी (रासस) 

काठमाडौँ, ३ असार : सरकारले कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको २५ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि कम्तीमा पनि ५० लाख बढी पर्यटक नेपाल भित्र्याउनु पर्छ ।

हाल पर्यटन क्षेत्रको गार्हस्थ उत्पादनमा २.८ प्रतिशत योगदान रहेको छ । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई राखिएको सन्दर्भमा भौतिक पूर्वाधारको विकास, नयाँ पर्यटकीय गन्तव्यको खोजी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार, यातायातको सहज उपलब्धता, विपद् तथा अत्यावश्यक समयमा उद्धारका लागि सहज संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सन् २०१७ मा नेपालमा करिब १० लाख पर्यटक आएका थिए । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । हरेक वर्ष पर्यटकको संख्या बढाएर सन् २०३० सम्म पर्यटक आवागनको संख्या ५० लाख पु¥याउने महत्वाकांक्षी लक्ष्य तय गरिएको छ ।

छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतमा मात्रै सन् २०१७ मा दुई करोड ५६ लाख पर्यटकले भ्रमण गरेका छन् । सन् २०१८ मा पर्यटकको संख्या तीन करोड पु¥याउने लक्ष्य राखिएको छ ।

चीनको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ११ प्रतिशत रहेको छ । दक्षिणी छिमेकी देश भारतमा सन् २०१७ मा एक करोड पर्यटकले भ्रमण गरेका छन् । भारतले प्रवेशाज्ञालाई विद्युतीय माध्यमबाट उपलब्ध गराउने नीति लागू गरेपछि सन् २०१८ को छ महिनाको अवधिमा ४९ लाख पर्यटकले भ्रमण गरिसकेका छन् ।

भारतको कूल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान ९.४ प्रतिशत रहेको छ । नेपाल पर्यटन बोर्डले तिब्बतमा आउने पर्यटकको कम्तीमा पनि १० प्रतिशत नेपाल भित्र्याउने लक्ष्यका साथ चिनियाँ भाषामा नै वेवसाइट सञ्चालनमा ल्याएको छ । तिब्बत आउने पर्यटकको १० प्रतिशत मात्रै नेपाल भित्र्याउन सकियो भने त्यो संख्या २५ लाख ६० हजार हुन पुग्छ । यस्तै भारत आउने एक करोड पर्यटकको १० प्रतिशत मात्रै नेपाल भित्र्याउन सकिए त्यो संख्या १० लाख बढी हुन जान्छ ।

दुई ठूला छिमेकी देशमा आउने पर्यटकलाई नेपाल ल्याउँदा मात्रै ३५ लाख बढी पर्यटक हुन जान्छन् । एसियाका अन्य देश, युरोप, अमेरिका र खाडी मुलुकमा नागरिक नेपाल भ्रमणमा आउने अवस्थाको सिर्जना गर्न सकियो भने रोजगारीको अवसरमा वृद्धि हुने र कूल गार्हस्थ उत्पादनमा समेत ठूलो योगदान पुग्न सक्छ ।

छिमेकी देशमा आउने पर्यटकलाई नेपाल भित्र्याउन यातायाताको सहज पहुँच, प्रचारप्रसारमा जोड, भौतिक पूर्वाधारको विकास तथा सुविधा सम्पन्न होटलको व्यवस्था, होमस्टे (घरबास)लाई ध्यान दिँदै नेपालको आफ्नै मौलिकतालाई विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी चीन र भारत केन्द्रित पर्यटनलाई विशेष जोड दिइएको बताउनुहुन्छ । बोर्डले चिनियाँ पर्यटकलाई ध्यान दिएर चिनियाँ भाषामा नै वेवसाइट सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ गते गर्न लाग्नु भएको चीनको भ्रमणका समेत पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिन लागिएको प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ ।

यस्तै भारत आउने पर्यटकलाई सहज रुपमा नेपाल प्रवेश गर्ने र नेपालमा नै थप केही दिन बिताउने गरी पर्यटनका योजना र कार्यक्रम बनाउन जरुरी देखिन्छ । प्रमुख कार्यकारी अधिकृत जोशीले भारतमा नेपाली व्यवसायीले ‘चलो पोखरा’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा बोर्डले पनि आफ्नै पहलमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

सरकारले आगामी आवका लागि रु पाँच अर्ब २० करोड बढी बजेट पर्यटन प्रवद्र्धनका लागि छुट्याएको छ । यस्तै हवाई क्षेत्रको विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । सरकारले कृषि, ऊर्जा तथा पर्यटनको जगमा नै संघीय नेपालको समृद्धि भर पर्ने जनाएको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा अगाडि सारेको छ । सन् २०२२ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने र सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्ने प्रमुख आधार समेत पर्यटन क्षेत्र नै रहेको छ ।

विश्वव्यापी पर्यटन आवागमनको संख्या पनि बढेको छ । सन् २०१७ मा मात्रै एक अर्ब ३२ करोड पर्यटकले भ्रमण गरेका छन् । वार्षिक सात प्रतिशतले दरले पर्यटकको आवागमन बढेको छ । युरोपमा मात्रै छ करोड ७१ लाख, एसिया प्रशान्त क्षेत्रमा तीन करोड २४ लाख, अमेरिकामा दुई करोड सात लाख र अफ्रिकामा ६२ लाख पर्यटकले भ्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा काम गरिरहेका संस्थाहरुकाअनुसार सबैभन्दा बढी माल्दिभ्सको कूल गार्हस्थ उत्पादनमा पर्यटनको ७६.६ प्रतिशत योगदान रहेको छ । यस्तै मकाउ ६१.३, प्रशान्त महासागरको टापु मुलुक बहमास ४७, केप भर्डीमा ४४.९, फिजी ४०.३, कम्बोडिया ३२.४, मौरिसस २३.८ र थाइल्याण्ड २१.२ प्रतिशत योगदान रहेको छ ।

यस्तै मलेसियामा १३.४, श्रीलंकामा ११.६, चीनको ११, भियतनामको ९.४, भारतको ९.४, ब्राजिलको ७.९ प्रतिशत योगदान रहेको छ ।

यस्तै भुटानमा पनि पछिल्लो दिनमा पर्यटकको संख्यामा वृद्धि भएको छ । सन् २०१७ मा मात्रै दक्षिण एसियाका एक लाख ८३ हजार २८७ पर्यटकले भ्रमण गरेको पाइएको छ । टुरिजम काउन्सिल भुटानकाअनुसार सन् २०१६ को तुलनामा सन् २०१७ मा २१.५ प्रतिशत पर्यटन आवागमनमा वृद्धि भएको छ ।

टे«किङ एजेन्सिज एशोसिएनसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल छिमेकी देशमा आउने पर्यटकलाई नेपाल भित्र्याउन पर्यटकीय पूर्वाधारको विकास र प्रवद्र्धनका कामलाई तीव्रता दिनुपर्ने बताउनुहुन्छ ।

उहाँले स्थलगत वा हवाई माध्यमबाट आउने पर्यटकलाई सहज रुपमा प्रवेश दिने वातावरण मिलाउनुपर्ने, मानसरोवरलाई मात्रै केन्द्रित गरेर आउने भारतीय पर्यटकलाई मुक्तिनाथ, जनकपुर, पशुपतिनाथ र लुम्बिनीलगायत क्षेत्रमा लैजानका लागि सरकारी र निजी क्षेत्रले पहल गर्नुपर्ने बताउनुभयो ।

सरकारले ‘स्वदेश पहिले र अनि मात्र विदेश’ भन्ने अवधारणा आगामी बजेटमार्फत सार्वजनिक गरिसकेको सन्दर्भमा सरकार र निजी क्षेत्रको सकारात्मक प्रयास हुनु जरुरी छ ।