आलेख : पर्यटनमा साझेदारी बढाउँदै फेवा–रारा

phewa-nh

– हरि वास्तोला 

रारा, मुगु, १० जेठ :  पर्यटकीय नगरी पोखराको फेवातालसँग नेपालको सबैभन्दा ठूलो एवम् सुन्दर ताल राराबीच वातावरण एवम् पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाले पर्यटकीय साझेदारिताको पहल शुरु गरेका छन् ।

दिगो वातावरण संरक्षण एवम् पर्यटन व्यवसाय लगायतका विषयमा सरोकार राख्ने विभिन्न संघसंस्थाले विगत तीन वर्षयता सञ्चालनमा ल्याएको फेवा–रारा अभियानले पर्यटन साझेदारिताको कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ ।

दशकौँदेखिको यथेष्ट प्रचार र आवश्यक भौतिक संरचना तयार भई पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको फेवातालको तुलनामा विकटताका कारण पर्यटकीय गन्तव्य बन्न नसकेको रारा ताल पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतर्पmबाट सल्लाघारीकोे हरियाली पहाडको घेराभित्र अवस्थित स्वर्गकी अप्सराको उपनामले परिचित रारा तालको सुन्दरताले त्यस क्षेत्र पुग्ने जो कोहीलाई पनि मन्त्रमुग्ध पार्ने गरेको फेवादेखि रारा तालसम्मको स्थानको अध्ययन अवलोकन गर्न उक्त स्थानमा पुग्नुभएका सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालीदाश सुवेदीले बताउनुभयो ।

“प्राकृतिक एवम् मानवीय अतिक्रमणका कारण दिनप्रतिदिन खुम्चँदै गएको फेवालगायत मुलुकका जैविक विविधता तथा तालतलैयाको उचित संरक्षणका लागि राराबाट धेरै सिक्न सकिन्छ,” उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत, साधन एवम् जैविक विविधता र वातावरण संरक्षणसँगै रारा ताल नजिकै सल्लेरीसम्म मोटर बाटो पुगेका कारण उक्त क्षेत्र आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षक गन्तव्य त बनेकै छ, यहाँको विकास स्थानीयवासीको जीविकोपार्जनसँग जोडिनु आवश्यक छ ।”

समुद्री सतहबाट दुई हजार ९९० मिटरको उचाइमा अवस्थित रारा तालको लम्बाइ पाँच किलोमिटर, चौडाइ तीन किलोमिटर र गहिराइ १६७ मिटर छ ।

पर्यटकलाई लक्ष्य गरी घरबास

रारा राष्ट्रिय निकुञ्जको संरक्षणमा रहेको सो तालको पूर्वमा रहेको पानीको निकास सँगैको छायानाथ रारा नगरपालिका–९ मा रारा मुर्मा घरबास कार्यक्रम सञ्चालन गरिएको छ । विसं २०७४ माघ महिनादेखि सञ्चालनमा आएको यो घरबासका लागि नेपाल पर्यटन बोर्डको रु २० लाख र स्थानीय युवाको रु ३० लाखसहित कूल रु ५० लाखको लागतमा विभिन्न संरचना निर्माण गरिएको रारा मुर्मा होमस्टे सञ्चालक समितिका कोषाध्यक्ष रत्नसिंह रोकाहाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरबास कार्यक्रमअन्तर्गत विद्यमान भौतिक संरचनाअनुसार घरमा ६० र त्रिपालमा २० जना राख्न सक्ने क्षमता छ । घरबासमा हालसम्म स्वीट्जरल्याण्ड, अमेरिका, अष्ट्रेलियालगायतका विभिन्न मुलुकका दुई दर्जनसहित करीब एक हजार जना बास बसिसकेका छन् । रोकाहाका अनुसार स्वदेशीका लागि प्रतिकोठा र त्रिपाल सानोको रु एक÷एक हजार, ठूलोको एक हजार २०० र सादा खाना रु २५० निर्धारण गरिएको छ । च्याङग्रा, कुखुराको मासुसहितको खानाका लागि भने रु ४०० शुल्क कायम गरिएको छ ।

रारा ताल किनारामा घोडा सयर

रारा ताल पुग्ने आन्तरिक एवम् बाह्य पर्यटकका लागि गाडी पुग्ने स्थान सल्लेरीदेखि तालका किनारामा रहेका होटल वा घरबास स्थलसम्म पुग्नका लागि घोडा सयर यहाँको अर्को विशिष्टता हो ।

हिँड्न असहज हुनेका लागि निकै सहयोगी घोडा सयर मनोरञ्जनको पनि महत्वपूर्ण पाटो बन्नाका साथै स्थानीयवासीको आयआर्जनको माध्यम बनेको मुर्माकी घोडा व्यवसायी १६ वर्षीय हीरा रोकाया बताउनुहुन्छ । “घोडामार्पmत सल्लेरीदेखि होटल वा होमस्टेसम्म पुगेको प्रतिव्यक्तिसँग रु एक हजार लिने गरेका छौँ,” उहाँले थप्नुभयो, “यस क्षेत्रमा लगभग ६० वटा घोडा छन् व्यवसायीलाई विशेष याममा भने पर्यटकलाई घोडामा चढाउन भ्याइनभ्याई हुन्छ ।”

एउटा घोडाको रु ६० देखि ८० हजारसम्म मूल्य पर्छ । उहाँले पर्यटक आउने याममा एउटा घोडाबाट दैनिक तीन देखि पाँच हजारसम्म आम्दानी हुने गरेको भए पनि अन्य समयमा खासै आम्दानी नहुने बताउनुभयो ।

रारा तालमा डुङ्गा सयर

नेपालको सबैभन्दा ठूलो एवम् उच्च स्थानमा रहेको सुन्दर र सफा हुँदाहुँदै पनि नीलो कञ्चन पानीमाथि डुङ्गा सयर गर्न पाउँदा पर्यटकको मन रमाउने गर्दछ । रारा तालको पूर्वपट्टि सञ्चालित दुई वटा होटल र रारा राष्ट्रिय निकुञ्ज रहेको स्थानमा डुङ्गा घाट छ । त्यहाँबाट ४५ मिनेटको डुङ्गा सयर पछि पर्यटकहरू तालको पश्चिमतर्पm आइपुग्छन् । डुङ्गा चढेको प्रतिव्यक्तिसँग रु ५०० लिने गरिएको डुङ्गा चालक भक्तबहादुर रोकायाले जानकारी दिनुभयो ।

पर्यटकको आगमन बढेसँगै ताल किनारा र आसपासका क्षेत्रमा होटेल व्यवसायको आकर्षण देखिएको छ । रारामा बढ्दै गएको पर्यटकीय चहलपहललाई लक्ष्य गरी पोखराका पर्यटनसम्बद्ध संस्थाले साझेदारी बढाए जस्तै अन्य ताल एवम् पर्यटकीय स्थलले पनि आफ्नो पर्यटकीय सम्बन्ध रारासँग जोडिनु आवश्यक रहेको व्यवसायीको धारणा छ ।

नेपालगञ्जको कोहोलपुरबाट सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारा ताल पुग्न सकिन्छ । सुर्खेत, कालीकोट हुँदै जुम्ला नाङ्मासम्म अधिकांश बाटो पक्की भए पनि सो स्थानदेखि तालसम्मै कच्ची हुँदा आवतजावतमा कठिनाइ भने हुने गरेको छ ।