घोल र घाँसेमैदान जोगाउन चुनौती

रत्ननगर, चितवन, ८ जेठ   : नेपालका संरक्षित क्षेत्रका वन्यजन्तु चोरी शिकारमा कमी आए पनि वन्यजन्तुका लागि नभै नहुने घोल र घाँसेमैदान संरक्षणमा भने चुनौती थपिँदो छ ।

जलवायु परिवर्तनसँगै प्राकृतिक कारणले घोल र घाँसेमैदान खुम्चने तथा मिचाहा प्रजातिका झार र बाढी पहिराका कारण घोल, ताल र घाँसेमैदानमा क्षति पुग्दै आएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसमा खासै ध्यान दिनसकेको छैन । सीमित कार्यक्रम ल्याएर सामान्य सरसफाइ र व्यवस्थापनको काम गरिए पनि सबै कार्यक्रम प्रभावहीन छ ।

व्यवस्थापनको काम न्यून र खुम्चने क्रम अधिक हुँदा वन्यजन्तु प्रभावित हुने गरेका छन् । चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बाढी पहिराले पनि यहाँका वन्यजन्तुको बासस्थानमा ठूलो क्षति भइरहेको र घाँसेमैदान, ताल, घोल प्रभावित भएको बताउनहुन्छ ।

गैंँडा, बाघले आफ्नो आहाराका लागि धेरै ठाउँ डुल्नुपर्ने अवस्था आउनुमा पनि ताल र घाँसेमैदान जोगाउन नसक्नु एउटा कारण हो । गैँडाविज्ञ डा नरेश सुवेदीको अध्ययनले गैँडाको आहारा खोजी गर्ने दायरा फराकिलो हुँदै गएको प्रमाणित गरेको थियो ।

आहाराको खोजीमा डुल्दा जनावर आपसमा जुधेर मर्ने क्रम बढेको पाइन्छ । चितवनमा पछिल्लो तीन महिनामा मरेका चार बाघको अनुसन्धान गर्दा अन्तरसंघर्षकै कारण मृत्यु भएको र आहाराको संघर्ष देखिएको गैरेले बताउनुभयो । यसअघि पटक पटक गैंँडा पनि जुधेर मरेको तथ्यांक छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक पनि निकुञ्जका धेरै तालतलैया चुरेबाट आउने पानीबाट बनेकाले बाढी पहिराले सुकेको र खुम्चिएको स्वीकार गर्नुहुन्छ । व्यवस्थापनको काम निकुञ्जले गर्दै आए पनि सानो कार्यक्रम आउँदा सम्भव हुनसकेको छैन । अब घाँसेमैदान व्यवस्थापनमा आधुनिकीकरण र प्रविधिको प्रयोग जरुरी रहेको पाठक बताउनुहुन्छ ।

निकुञ्ज स्थापनाताक घाँसैमैदान २० प्रतिशत रहेकामा अहिले घटेर ६ प्रतिशतमा आउनाले पनि यसको चुनौती प्रष्टिन्छ । आज जैविक विविधता दिवस मनाइरहँदा यस्ता ताल र घाँसेमैदानको संरक्षणमा ध्यान दिन जरुरी भएको ‘नेचर गाइड’ डोमा पौडेलको भनाइ छ ।

निकुञ्जभित्र वन्यजन्तुको चहलपहल हुने लघुना ताल र थपलिया ताल सुकिसकेको छ । वन्यजन्तु प्रभावित नहोस् भनेर तालमा पानी ल्याउने प्रयास विभिन्न निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिँदै आएको छ । विशेषगरी खडेरीमा तालतलैया र घोल बढी प्रभावित हुन्छन् ।

भएका कतिपय ठूला ताल जलकुम्भी र करौंँते झारले भरिएको तथा कतिपय तालमा पानीको सतह घट्दै गएको निकुञ्जले जनाएको छ । निकुञ्जको पानीको स्रोत चुरे क्षेत्र हो । चुरे क्षेत्रमा वन विनाश हुँदै जानु पनि ताल सुक्नाको अर्काे कारण हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्याल भन्नुहुन्छ, “वन र पानीको मुहान संरक्षणमा निकुञ्ज आसपास मात्रै होइन माथिल्लो मुहानक्षेत्रका बासिन्दासमेत चनाखो हुनु जरुरी छ, भन्नुहुन्छ ।”

चितवन निकुञ्जमा ५६ महत्वपूर्ण ताल छन् । निकुञ्जमा अहिले तमोरताल, लामीताल, देवीताल, गरुड ताल, कमल ताल र कोरिडोरमा महत्वपूर्ण बीसहजारी ताल छ । यी तालमा मिचाहा झार र प्राकृतिक कारण माटो भरिएर खुम्चँदै आएका छन् ।

तालमा मुख्यगरी गैँंडा रमाउँछ । बाघ, चित्तललगायत अन्य जनावर पानी खान तालमा पुग्छन् । गोहीको मुख्य बासस्थान निकुञ्जभित्रका ताल हुन् । ताल सुक्दा वन्यजन्तुलाई नै नराम्रो असर पुग्छ । ताल र घाँसैमैदान नङ र मासु जस्तै सम्बन्ध हुन्छ । यी दुई क्षेत्र भएन भने जैविक विविधता हराउँछन् । यति महत्वपूर्ण विषयमा भने राज्यले नै लगानी नसकेको गुनासो संरक्षणकर्मी जीतु तामाङको छ ।

निकुञ्ज विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलिया विभागबाट जोगाउने प्रयास भइरहे पनि घोल र घाँसेमैदान संरक्षणमा चुनौती भने रहेको बताउनुहुन्छ   (रासस)

Online Shopping in BangladeshCheap Hotels in Bangladesh