आलेख : पर्यटन विकासका लागि ठोस योजना भएन

myagdi-nh

– सन्तोष गौतम 

बाबियाचौर, म्याग्दी, ६ जेठ  :  म्याग्दीमा ठोस योजनाको अभावमा पर्यटन क्षेत्रको उल्लेख्य विकास हुन सकेको छैन । पूर्वाधार, प्रचारप्रसार र प्रर्वद्धनको अभावमा धेरैजसो पर्यटकीय स्थल ओझेलमा परेका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, सिंगा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरि र अन्नपूर्ण आधार शिविर तथा ढोरपाटन शिकार आरक्ष म्याग्दीका पर्यटकीय गन्तव्यका रुपमा परिचित छन् ।

धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, खोप्रा, खयर, बयली, गुर्जा, पश्चिम धौलागिरि, टोड्के, लभ्लीहिल, मोहरेडाँडा, करबाकेली म्याग्दीका पछिल्लो पटक पहिचान गरिएका पर्यटकीयस्थलहरु हुन् । विभिन्न ११ वटा हिमाल अवस्थित म्याग्दीका अधिकांश बस्तीबाट हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ ।

संसारको साताँै अग्लो आठ हजार १६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि, अन्नपूर्ण पहिलो (८,०८१), गुर्जा (७,१९३), मानापाथीलगायत हिमाल म्याग्दीको सौन्दर्य बढाउने ‘चार चाँद’ हुन् । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रुपमा वर्णन गरिने अन्नपूर्ण र धौलागिरि चक्रीय पदमार्गमा समेटिए पनि म्याग्दीले पर्यटनबाट अपेक्षाकृत लाभ लिन सकेको देखिँदैन ।

“प्रकृतिले म्याग्दीलाई दिएको उपहारलाई पर्यटकीयस्थलका रुपमा विकास गरेर समुदाय र देशको आर्थिक विकासमा रुपान्तरण गर्नुपर्छ,” धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाले भन्नुभयो, “पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनको आवश्यकता छ ।”

दानाको रुप्से, हिस्तानको महभिर, लुलाङको नर्जा, मुदीको घोप्टेओडार, भुङकोटलगायत दर्जनाँै झरना कुनै षोडशी युवतीले ओढेको सेतो पछ्यौरी हावाले उडाउन लाग्दा सम्हाल्न खोजेको जस्तो दृश्यावलोकन गर्न सकिन्छ । घारको पुनहिल, राम्चेको मोहरे, शिखको खोप्रा, भगवतीको रुइसे, कुहुँको टोड्के, बिमको मालिका, भकिम्लीको स्वर्गाश्रम, लुलाङको जलजलालगायत दर्जनौँ टाकुराबाट बिहानीमा लाली छाउँदै उडाउने सूर्योदय हिमालका चुचुरोमा पर्दा सुन टल्किए झँै मनमोहक दृश्य देख्न सकिन्छ । खुलेको नीलो आकाश, पाखाभरि फुलेका लालीगुराँसको जंगलको पृष्ठभूमिमा गगन चुम्न लागेजस्तो हिमाल देखिन्छ ।

दानामा रहेको छ हजार ९६७ मिटर गहिरो अन्धगल्छी म्याग्दीको गहना हो । दरवाङ दुखुको भाले बास्ने, शिखको खयर, हिस्तानको प्यारी, नांगी बाराही, निस्कोट, गुर्जा, गाईखर्क, कालीदह लगायतका ठाउँमा दर्जनौँ तालतलैया छन् । बेनपा–४ को तातोपानी प्राकृतिक उपचार स्थल र अन्नपूर्ण–२ को भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा परिचित छन् ।

शिख, दोवा, दर्मिजा, मुदी र गुर्जाको तातोपानी कुण्डको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार हुन सकेको छैन । प्राकृतिक संग्रहालयका रुपमा रहेका कल्लेनीको क्यामध्याम, देविस्थानको देवताभिर, काभ्रेको बाजाढुङ्जा र गलेश्वरको जडभरत गुफा ओझेलमा छन् ।

बेनपा–९ मा रहेको गलेश्वरमा पछिल्लो समय धार्मिक पर्यटकको आगमन बढे पनि बेनीकै महारानी, वरको रूखमुनि रहेको बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बौद्धगुम्बा, राम्चेको करबाकेली थान, पुलाचौरको जगन्नाथ, पछै, रघुगंगा गाउँपालिकाको रिखार, मालिकाथानलगायत दर्जनाँै स्थल भक्तजनको प्रतीक्षामा छन् । ताकमकोट, ज्यामरुककोट, बेनी कोट र भगवतीमा रहेका ऐतिहासिक महत्वका कोटको संरक्षण हुन नसकेको बेनपा–२ का चन्द्रबहादुर घिमिरेले बताउनुभयो ।

बेनी, तातोपानी, भुरुङ, दाना, घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । टिकोट, कुहुँको पूर्णगाउँ, झीँ, गुर्जामा, खिवाङ, होमस्टे सञ्चालन भएको छ । नांगी, मोहरेडाँडा, फूलबारी, टिकोट, ढाँडखर्क, बयली र खोप्रामा सामुदायिक लज सञ्चालित छ । ती सामुदायिक लजको आम्दानी सामुदायिक विद्यालय र स्वास्थ्य संस्था सञ्चालनमा परिचालन गरेर नमूनायोग्य काम भएको छ । मगर, छन्त्याल, थकाली, नेवार समुदायको मौलिक कला र संस्कृति पर्यटन विकासको अर्को आधार हो ।

धौलागिरि चक्रीय, अन्नपूर्ण आधार शिविर, गुरिल्ला, धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा होटल तथा लजको सुविधा नभएकाले क्याम्पिङ गर्नुपर्छ । सञ्चार र विद्युत् सुविधा पुगेको छैन भने सुरक्षा अर्को चुनौती हो । गाउँ पर्यटन प्रवद्र्धन केन्द्र (भिटोभ)का पूर्वमहासचिव राजकुमार थापा म्याग्दीमा थुप्रै सम्भावना भए पनि पूर्वाधार, प्रचारप्रसार र प्रवद्र्धनको अभाव रहेको बताउनुहुन्छ ।

म्याग्दीका स्थानीय तहले चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार विकाससम्बन्धी ३१ वटा योजनालाई रु दुई करोड ३१ लाख विनियोजन गरेका छन् । म्याग्दीको पर्यटन सम्भावनाको पहिचान, प्रचार र प्रवद्र्धनका लागि शुरु भएको म्याग्दी भ्रमण वर्ष–२०७५ को संयोजन गर्नुभएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले स्थानीय तहले पर्यटन क्षेत्रमा विनियोजन गरेको बजेट न्यून भएको बताउनुभयो ।

पर्यटन विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने कर्माचार्यको भनाइ छ । नयाँ रुटहरुमा पदमार्ग, क्याम्पिङ साइट, पदचिह्नका साथै गाउँमा होमस्टे, चिया पसल र होटल सञ्चालनका साथै स्थानीयवासीमा पर्यटकमैत्री व्यवहारको विकास गराउन आवश्यक भएको पर्यटन व्यवसायी बताउँछन् । गुरिल्ला पदमार्गका अभियन्ता सुरेन्द्र रानाले प्राकृतिक सौन्दर्यमा रमाउन चाहने सौखिन पर्यटकले अरू नपुगेको र नयाँ ठाउँ रुचाउने हुनाले नयाँ पर्यटकीयस्थलका बारेमा प्रचारप्रसारसँगै न्यूनतम आधारभूत पूर्वाधार जुटाइदिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याँकअनुसार गत आव २०७३७४ मा ७० हजार जना पर्यटक भित्रिएको म्याग्दीमा आउने ९० प्रतिशत पर्यटकको गन्तव्य घोडेपानी पुनहिल नै हो । पछिल्लो समय पर्यटकको संख्या बढे पनि उनीहरुले खर्च गर्ने क्षमता भने घटेको बताउनुहुन्छ घोडेपानीका होटल व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन ।

अध्यक्ष पुनले धेरै संख्यामा भन्दा पनि बढी खर्च गर्न सक्ने क्षमता भएका पर्यटक भित्र्याउने योजना र कार्यक्रम आवश्यक रहेको बताउनुभयो । आन्तरिक पर्यटकहरु पनि खर्च गर्ने सवालमा बाह्य जत्तिकै सक्षम देखिएका घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनको भनाइ छ ।

“पूर्वाधार निर्माणसँगै पर्यटकीयस्थलका बारेमा प्रचारप्रसारमा उत्तिकै जोड दिनुपर्छ,” बुद्धुजाले भन्नुभयो, “यसमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ ।”

सडक विस्तार पर्यटन क्षेत्रको अर्को चुनौती बनेको छ । सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित मात्र भएका छैनन् पर्यटक आगमन निराशाजनक रुपमा घटिरहेको छ । पुराना पदमार्ग सडकमा परिणत भएपछि वैकल्पिक र नयाँ पदमार्गको पहिचान र विकासमा जोड दिइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले बताउनुभयो । पोखरेबगर–घार–शिख–घोडेपानी पदमार्ग र बेनी–जोमसोम पदमार्ग सडकमा परिणत भएपछि एक्यापको पहलमा वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको छ ।