‘सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४’

पोखरा, २४ माघ:  ‘सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४ लाई यहीँका साधनस्रोतले समृद्ध बनाउन सकिन्छ,’ सोमबार प्रदेश नं ४ को प्रथम ऐतिहासिक बैठकबाट बाहिरिएका प्रदेशसभा सदस्यबाट निस्किएको एउटै स्वर हो यो ।

जलस्रोत, कृषि र पर्यटनकै माध्यमबाट अन्य प्रदेशभन्दा यसलाई विकसित बनाउन सकिने बताउँदै सदस्यहरूले उपलब्ध साधनस्रोतकै उपयोग गरेर यसलाई अन्य भन्दा अब्बल बनाउन सकिने आधार भएको बताए ।

प्रदेशसभा सदस्य मनकुमारी गुरुङले यहीँका साधनस्रोतको उपयोग गरिएमा विकासका मार्ग कोरिने बताउँदै युवालाई विदेशिनुपर्ने बाध्यताबाट मुक्त गर्न सकिने धारणा राख्नुभयो । “यसअघि हामी जति बोल्नुपर्ने बोलिसक्यौँ, अब काम गर्ने बेला हो,” उहाँले भन्नुभयो, “यस प्रदेशको समुन्नतिका लागि जनताले दिएको अमूल्य मतलाई खेर जान दिने छैनौँ ।”

हिमालदेखि तराईसम्मको भूभाग समेटेर बनेको प्रदेश नं ४ हिमालपारिको जिल्ला मनाङ मुस्ताङदेखि दाउन्नेदेवी पूर्व नवलपुर, गैँडाकोटसम्म फैलिएको क्षेत्र हो । क्षेत्रलाई पर्यटन, कृषि, जलस्रोत आदिका माध्यमबाट समृद्ध बनाउन सक्ने स्पष्ट देखिन्छ । जलस्रोतको अपार भण्डार रहेको यो प्रदेशलाई जलस्रोतकै उपयोग मात्र गर्न सके पनि आर्थिक समृद्धि र विकास अघि बढाउन सक्ने देखिन्छ ।

प्रमुख नदीहरू कालीगण्डकी, सेती, मस्र्याङ्दी, मादी, मोदी, म्याग्दी, रहुगंगा (राहुघाट), बूढीगण्डकी आदिका साथै महाभारत पर्वतबाट निस्केका सहायक नदी र खोला यहाँका महत्वपूर्ण जलसम्पदा हुन् । आँधीखोला, ज्याग्दी, रुदी, मिदिम, सार्दी, उत्तरगंगा, रतीखोला, रिस्ती आदि खोलाबाट विद्युत् उत्पादनका धेरै सम्भावना छन् । देशमा उत्पादित विद्युत्को ठूलो हिस्सा यही प्रदेशबाट जान्छ । यहाँका कालीगण्डकी, मस्र्याङ्दी, अपर मस्र्याङ्दी, मोदी आदि सञ्चालन भएका महत्वपूर्ण आयोजना हुन् । मोदी नदीमा ठाउँ–ठाउँमा पावर हाउस निर्माण भइरहेका छन् ।

हाल देशमा उत्पादित ९२० मेगावाट बिजुलीमध्ये ३५८ मेगावाट विद्युत् उत्पादनको योगदान प्रदेश नं ४ ले दिएको छ । मुलुककै सबैभन्दा धेरै क्षमतायुक्त १४४ मेगावाटको आयोजना कालीगण्डकी ‘ए’ प्रदेश नं ४ को स्याङ्जामा छ भने देशकै दुई ठूला आयोजना मध्यमस्र्याङ्दी र मस्र्याङ्दी लमजुङ र तनहुँ जिल्लामा छन् । निर्माणाधीन आयोजनाबाट अबको केही समयभित्र प्रदेश नं ४ मा करिब ५०० मेगावाट विद्युत् उत्पादन हुन लागेको तथ्यांकले देखाएको छ ।

प्रदेश नं ४ को अर्को सबैभन्दा ठूलो सेती नदीमा तनहुँ हाइड्रोपावर निर्माणका क्रममा रहेको आयोजनाको क्षमता १४० मेगावाट छ । यहाँ निर्माणाधीन अन्य आयोजनाको क्षमता ४७७ मेगावाट छ । अनुमति लिएर निर्माण शुरु गर्ने साइत पर्खिएका आयोजनाको क्षमता झण्डै ३०० मेगावाट छ । संविधानले गरेको सीमांकनअनुसार गण्डकी र धौलागिरिका १० जिल्लासहित नवलपरासीको पूर्वी भाग यही प्रदेशमा पर्छ । नवलपरासीको गण्डक क्षेत्रको विद्युत् आयोजना पनि यही प्रदेशमा पर्दा यो प्रदेशको योगदान जलविद्युत्मा स्पष्ट रुपमा बढी देखिन्छ ।

प्रदेशसभा सदस्य किरण गुरुङ सुशासन कायम गर्दै स्थानीय तहलाई बलियो बनाएर समृद्धिका लागि यहाँका साधनस्रोतको अधिकतम उपयोग गरिनु आवश्यक भएको बताउनुहुन्छ । “यो सम्भावनायुक्त प्रदेश हो, यो वा त्यो नभनी विकासका लागि सबैको सहकार्य र एकता आवश्यक छ,” उहाँले भन्नुभयो ।

अर्का सदस्य मित्रकुमारी गुरुङले व्यावसायिक कृषिको विकास, पर्यटन आदिमा प्राथमिकता दिँदै बढ्न सके विकासले चाँडै नै फड्को मार्ने धारणा राख्नुभयो । यहाँस्थित तराईका भूभागमा अन्न उत्पादन, पहाडी भूभागमा फलफूल उत्पादन गर्न सकिन्छ भने उच्च हिमाली भेगमा फलफूलको साथै जडीबुटी उत्पादन गर्न सकिन्छ । हिमाली क्षेत्रमा चौँरीगोठ, भेडीगोठ राखी ठूलो मात्रामा दूध, चिज र भेडा–च्याङ्ग्राको मासु उत्पादन गर्न सकिन्छ ।

विगतमा कास्कीकै उत्तर तर्फका सिक्लेस, ताङतिङ, घाचोक, म्याग्दीको नारच्याङ, गोरखा र मुस्ताङको लेकाली प्रदेशमा प्रचुर मात्रामा गाईगोठ, भेडीगोठ, चौँरीगोठ राखी मासुका साथै ऊनको प्रशस्त उत्पादन हुने गरेकामा पछिल्लो समयमा जनशक्तिको अभाव र कृषिप्रतिको अनिच्छाले उक्त व्यवसाय नै लोपोन्मुख बनेको छ ।

यस प्रदेशअन्तर्गत हिमाली क्षेत्रअन्तर्गत मुस्ताङको थाकखोला उपत्यकामा स्याउ, खुर्पानी, आरुको राम्रो उत्पादन हुने क्षेत्र हो भने मार्फाको स्याउ फार्मले त्यस भेकमा स्याउखेतीको विकासमा ठूलो योगदान पु¥याएको छ । यस क्षेत्रमा स्याउका अतिरिक्त आलु, उवा, जौ, फापरको पनि राम्रो उत्पादन गर्न सकिन्छ भने पहाडी क्षेत्रमा मकै, कोदो जस्ता अन्नबाली उत्पादन गर्न सकिन्छ । यस प्रदेशअन्तर्गत कास्की र आसपासका जिल्लामा हाँडेटार, रम्घाटार, राइनासटार, भोर्लेटार, छेपेटार, साँगे पत्यानी, बुलिङटार, चापाकोट, रामपुर, फलेबास, ज्ञादी, सार्दीखोला, पुरुञ्चौर, हेम्जा, विजयपुर, बेगनास ड्याम, फेवा ड्याम, सेती नहर आदि स्थानमा सिँचाइको राम्रो प्रबन्ध छ ।

चीनको सीमा नाका कोरलादेखि सुस्तासम्म फैलिएको यस प्रदेशमा पर्यटनका पर्याप्त सम्भावना छन् । कालीगण्डकी करिडोरको विकासका माध्यमबाट यस क्षेत्रलाई सबल बनाउन सकिने प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपालीले बताउनुभयो । यहाँका धवलागिरि, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खलाका साथै महाभारत पर्वत क्षेत्रमा पर्ने मनमोहक गाउँले पर्यटकलाई लोभ्याउने गरेका छन् । मन नै लोभ्याउने घान्द्रुक, लान्द्रुक, घलेगाउँ, बारपाक, ताङतिङ, सिक्लेस, मिर्सा शिख, घार, पुनहिल, नारच्याङ, डाँडाखर्क, आर्थर, सिरुबारी जस्ता यहाँका गाउँका साथै डहरे, पञ्चासे, घुम्टे जस्ता स्थलको छुट्टै पर्यटकीय विशेषता छ ।

यहाँस्थित अन्नपूर्ण पदमार्ग क्षेत्र सहितका कैयौँ पदमार्गमा बर्षेनी ठूलो सङ्ख्यामा पर्यटक आउँछन् । यहाँका घान्दु्रक, लान्द्रुक, सिकलेस, घलेगाउँ, ताङतिङ, बारपाक आदि रमणीय गाउँमा पछिल्लो समय पर्यटक पुग्ने क्रम बढ्दा गाउँ पर्यटन पनि फस्टाउँदै गएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई चाँडै नै सम्पन्न गर्न सके अन्तर्राष्ट्रिय पर्यटन बजारमा यस प्रदेशको सिधै सम्पर्क हुने देखिएको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh