पहुँचयोग्य बनाइँदै विन्ध्यवासिनी मन्दिर अपाङ्गका लागि

पोखरा, २० माघ:  अन्तर्राष्ट्रिय रुपमा नै ख्याति कमाएको पोखराको महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल हो विन्ध्यवासिनी मन्दिर ।

पोखराको इतिहासको साक्षी जस्तै बनेको यो मन्दिर कसले र कहिले निर्माण ग¥यो भन्ने यकिन तथ्य प्राप्त नभए पनि पूजा सञ्चालन गरिरहेका ब्राह्मणले प्राप्त गरेको सनद तथा लालमोहरबाट कमसेकम तीन सय वर्ष अघि मन्दिर वर्तमान स्वरुपमा निर्माण भइसकेको अनुमान गर्न सकिन्छ ।
कास्की जिल्लाको मध्यभागमा अवस्थित २७ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर वरपरको समथरिलो भूभागबाट केही उच्च थुम्कोमा अवस्थित छ ।
थुम्कोमा रहेका कारण दर्शनार्थीलाई केही सिँढी चढेर उक्लनु पर्ने भएकाले हिँड्न नसक्ने दर्शनार्थीलाई परिवारजनले बोकेर पु¥याउने गरेका छन् ।
विन्ध्यवासिनी मन्दिरमा दैनिक ३००÷४०० देखि तीन चार हजार जनासम्म दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी रुद्रनाथ पौडेलले जानकारी दिनुभयो ।
विशेष गरी आश्विन शुक्ल पक्ष, चैत्र शुक्ल पक्ष र महत्वपूर्ण तिथि एवम् पर्वका बेला यहाँ भीड लाग्ने गर्छ ।

अपाङ्गलाई दर्शनका लागि मन्दिरसम्म पु¥याउन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको पहलमा लक्ष्मी हाउस पोखराले लिफ्ट राखिदिने भएको छ । समितिका सचिव तीर्थ श्रेष्ठले भन्नुभयो –“अपाङ्गताका कारण हिँडेर पुग्न नसक्ने दर्शनार्थीलाई लक्ष्य गरी लक्ष्मी हाउसबाट प्राप्त रु ८० लाख सहयोगबाट लिफ्ट निर्माण कार्य अघि बढाइएको छ ।”
यहाँबाट प्रकृतिलाई नियाल्न थप उचाइको भ्यु टावर पनि सँगसगै निर्माण गर्ने लक्ष्य राखिएको छ ।
समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले दर्शनार्थीका लागि लिफ्ट निःशुल्क गरिने जानकारी दिँदै भ्यु टावरबाट दृश्यवालोकन गर्न भने समितिले केही शुल्क लिनसक्ने बताउनुभयो । विन्ध्यवासिनी मन्दिर परिसरबाट विभिन्न ११ वटा हिम शिखर देख्न सकिन्छ ।
यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार ९३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार ५५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार ५२५ मिटरको अन्नपूर्ण चौथो, सात हजार ४८५ मिटरको खाङसारकाङ र सात हजार २९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल देख्न सकिन्छ ।
त्यस्तै, छ हजार ९९७ मिटरको माछापुच्छ«े, छ हजार ९८३ मिटरको लमजुङ, छ हजार ४४१ मिटरको घान्द्रुक हिउँचुली र पाँचहजार ७८१ मिटरको मर्दी हिमाल यहाँबाट नाङ्गो आँखाले देख्न सकिन्छ ।

विन्ध्यवासिनी मन्दिर गुम्बज शैलीमा सेतो रङ्गको अष्टभुजाकार रहेको छ भने गजूरबाट तामाको श्रीवन्दी लत्रिएको छ ।
मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न तिथिमितिमा राखिएका घण्टहरू छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ ।

मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवीका मन्दिरहरू रहेका छन् । मन्दिर परिसरमा समितिले बाटिकाहरू बनाएको छ ।
सचिव श्रेष्ठले भन्नुभयो – “मन्दिरप्रतिको आस्था तथा यसको बढ्दो आकर्षणलाई दृष्टिगत गरी यसलाई सुविधा सम्पन्न बनाउनुका साथै रात्रिकालीन समयमा पनि दर्शन एवम् घुमफिर गर्नसक्ने स्थलका रुपमा विकासको योजना अघि बढाएका छौं ।”
समितिले मन्दिरलाई रातको समयमा पनि खुल्ला राख्न रु ४२ लाखको लागतमा सौर्य बत्ती जडान गर्ने योजना अघि सारेको छ । सौर्य बत्ती जडान गर्न पोखरा लेखनाथ महानगरपालिकाको सिफारिशमा नगर विकास कोषले अनुदान दिने भएको छ ।
पुजारी पौडेलका अनुसार विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिरमा दर्शनार्थीले दर्शन गर्ने गरेका छन् । अहिले यहाँ करिब रु एक करोड १५ लाखको लागतमा प्रदक्षिणा पथको निर्माण कार्य भइरहेको छ ।

समितिको पहल एवम् समाजसेवी सुशील कुमार गोसलीको सहयोगमा मन्दिर परिसरमा रु ४६ लाखको लागतमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको शिवलिङ्ग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैंंचा लगायतका संरचनाको निर्माण पनि अघि बढाइएको छ ।
सचिव श्रेष्ठका अनुसार मन्दिर परिसरमा सञ्चालित विन्ध्यवासिनी गुरुकूल विद्याश्रमलाई १२ कक्षासम्म सञ्चालन गर्ने गरी तयारी गरिएको छ भने यहाँ आउने विशिष्ट सन्त महन्तका लागि सन्त निवास तथा अतिथि गृह निर्माण गरिएको छ ।
विन्ध्यवासिनी मन्दिर परिसरमै कास्की जिल्लाको तीन सय वर्ष पुरानो प्रशासनिक भवन (माल अड्डा)लाई पुरानै कलात्मक स्वरुपमा पुरातत्व विभागले निर्माण गरिरहेको छ ।

 

–वासुदेव पौडेल 

Online Shopping in BangladeshCheap Hotels in Bangladesh