प्रदेश नं ४ को बैठक माघ २२ गते पोखरामा हुँदै

पोखरा, १७ माघ :  प्रदेश नं ४ को प्रदेशसभा बैठक आगामी माघ २२ गते पोखरामा हुँदैछ ।

प्रदेशसभाको बैठक सञ्चालन गर्ने स्थल पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको भवन एवम् सभाकक्ष चिटिक्क पार्न लागिएको छ भने अन्य सम्बन्धित कार्यालय एवम् सचिवालयको व्यवस्थापनको कामलाई द्रुत रुपमा अघि बढाइएको छ ।

प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित बनाउन र आवश्यक अन्य तयारी गर्न संसद् सचिवालयको चार सदस्यीय टोली मंगलबार पोखरा आइपुगेको छ ।

संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकी नेतृत्वको टोलीमा उपसचिव गोपाल सिग्देल शाखा अधिकृत अनन्त कोइराला र एक प्रविधिज्ञ हुनुहुन्छ ।

टोलीले पोखरा आएसँगै प्रदेशसभाको बैठक बस्ने सम्बन्धमा भइरहेका भौतिक पूर्वाधार लगायतका कामका सम्बन्धमा आवश्यक जानकारी लिएको छ । साथै तयारीबारे सम्बन्धित पदाधिकारीसँग छलफल भइरहेको पनि सहसचिव बुढाथोकीले जानकारी दिनुभयो ।
गत माघ ७ गते प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएलगत्तै ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेशसभाका सदस्यलाई नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा शपथ खुवाउनुभएको थियो ।

प्रदेशसभा बैठकको मिति तोकिएसँगै त्यसको व्यवस्थापनका कार्यलाई तीव्ररुपमा अघि बढाइएको प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

शपथपूर्व नै प्रदेशको अस्थायी कार्यसञ्चालन केन्द्रका रुपमा पोखराको पार्दीस्थित साविकको अध्यागमन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय बनाइसकिएको छ ।

पोखरालाई प्रदेश नं ४ को अस्थायी कार्यसञ्चालन केन्द्र बनाइएसँगै आवश्यकता अनुसार यहाँ कार्यालय, सचिवालय एवम् आवासको व्यवस्थापन गर्ने कामलाई अघि बढाइएको छ ।

प्रदेशसभाको सचिवालयमा बैठक कक्षसहित मुख्य मन्त्रीको कार्यालय, सचिवालय एवम् सभामुख तथा उपसभामुखको कार्यालय तथा सचिवालय खडा गर्ने काम भइरहेको क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नं ४ का मुख्यमन्त्रीको कार्यालय एवम् सचिवालय निर्माणाधीन श्रम कार्यालयको भवनमा राख्ने गरी रङ्गरोगन भइरहेको छ । पोखरा लेखनाथ महानगरपालिकाको ड्याम साइडस्थित अतिथि गृहलाई आवास स्थलका रुपमा व्यवस्थापन गर्न लागिएको छ ।

“प्रादेशिक संरचना नयाँ अभ्यास भएका कारण आवश्यकता अनुसारका कार्यालय स्थापना एवम् सञ्चालन हुँदै जाने क्रममा छन्,” उहाँले भन्नुभयो – “अहिले तयार गरिएका कार्यालय तथा संरचना सबै अस्थायी हुन् । स्थायी संरचना निर्माण कार्य विस्तारै अघि बढ्दै जाने छ ।”

नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्ष एवम् सचिवालयलाई व्यवस्थित गर्ने कार्य तीव्रताका साथ अघि बढेको शहरी विकास डिभिजन कार्यालयका प्रमुख किशोरलाल माजुले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मुख्य मन्त्रीको कार्यालय एवम् सचिवालय श्रम कार्यालयको नवनिर्मित भवनमा हुने भएका कारण त्यसको रङ्गरोगनको काम भइरहेको छ ।”

संसद् सचिवालयका सह सचिव बुढाथोकीका अनुसार प्रदेशसभाको पहिलो बैठकले संसद् सञ्चालनका लागि अन्तरिम कार्यविधि पारित गर्नेछ ।

प्रदेशसभा बैठकको सञ्चालनका लागि पहिलो बैठकमा अध्यक्ष मण्डल गठन हुने र पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन भइसक्नुपर्ने व्यवस्था रहेको छ ।

 

–वासुदेव पौडेल 

Online Shopping in BangladeshCheap Hotels in Bangladesh