आजको चन्द्रग्रहण कहाँबाट कसरी हेर्ने ?

काठमाडौं , १७ माघ : मंगलबार खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलिय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । यो १ सय ५८ वर्षपछिको दुर्लभ खगोलिय घटना हो ।

धार्मिक मान्यताअनुसार चन्द्रग्रहण लागेको समयलाई राम्रो मानिँदैन । त्यसैले भन्ने गरिन्छ पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन, नांगो आँखाले हेर्नु हुँदैन । त्यतिमात्रै होइन हाँस्यव्यंग्य गर्न र सहबास गर्नसमेत नहुने बताइन्छ ।

आजको चन्द्रग्रहण कहाँबाट कसरी हेर्ने ?

आज साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मूल्य र मान्यताअनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी गर्दैन ।

ग्रहण चन्द्रोदय हुनुभन्दा अगावै सुरु हुने हुनाले अवलोकन गर्न इच्छुक व्यक्तिहरुले उत्तरपूर्वी दिशामा कुनै अवरोध नभएको स्थानमा बसेर हेरेको खण्डमा चन्द्रोदयको समय अर्थात् साँझ ५ बजेर ३६ मिनेटदेखि नै ग्रहण देख्न सक्नेछन् ।

ग्रहणले चन्द्रमालाई ६ बजेर ३६ मिनेटमा पुरै ढाक्नेछ । ६ बजेर ३६ मिनेटदेखि १ घण्टा १६ मिनेटसम्म अर्थात् ७ बजेर ५२ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्न सक्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हु्ँद राति ८ बजेर ५६ मिनेटमा सकिन्छ ।

 

 

Online Shopping in BangladeshCheap Hotels in Bangladesh