गुप्तालाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की

नवलपरासी, १६ माघ:  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ ।

एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उहाँले जानकारी दिनुभयो ।

बेलुकाको समयमा फोनमा धम्की दिने व्यक्तिको स्वर एउटै भएको समेत गुप्ताको भनाइ छ । पैसाका लागि धम्की दिएको हुन सक्ने ठानेर सोध्दा “तैँले आजकल मान्छेलाई गन्न छाडेको छस् त्यहीँ भएर गोली हानेर मार्छु भन्दै धम्की दिने गरेको र गाउँपालिकाको कार्यक्रममा हिँड्दासमेत त्रस्त भएर हिँड्नुपरेको छ। ” गुप्ताले भन्नुभयो ।

बारम्बार धम्की आउने फोनको नम्बर देखिँदैन । फोन आउँदा नम्बरको ठाउँमा ‘प्राइभेट’ लेखिएको अक्षरमात्र आउने गरेको र अध्यक्ष भएपछि अरुलाई नटेरी मनोमानी काम गरेको आरोप लगाउँदै गोली हानेर मार्ने धम्की दिइने गरेको गुप्ताले जानकारी दिनुभयो ।

जुनसुकै बेला पनि गोली हान्न सक्छु भनेर फोन आउने गरेकाले आफू मानसिक तनावमा रहेको र धम्कीबारे सुरक्षा निकायमा जानकारी गराए पनि अहिलेसम्म कसैको पहिचान हुन नसकेको गुप्ताको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट विजयी गुप्ताको घर सीमावर्ती पाल्हिनन्दन गाउँपालिका–३ मा पर्छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh