आठ वर्षपछि पुलुकिसी प्याखँ पुनः सञ्चालनमा

भक्तपुर, १६ माघ :  आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ (ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ ।

अर्थ अभावका कारण रोकिएर लोप हुने अवस्थामा पुगेको पुलुकिसी प्याखँ मध्यपुर थिमि–३ स्थित स्थानीय सागबारी टोलका युवाको सक्रियतामा यस वर्ष पुनः सञ्चालनमा ल्याएको हो ।

मध्यपुरथिमिमा पुलुकिसी प्याखँ भिमा एकादशीको दिन प्रदर्शन गरिन्छ । श्री स्वस्थानी व्रतकथा प्रारम्भसँगै शुरु हुने माधवनारायणको व्रतको अवसरमा यो प्याखँ भिमा एकादशीको दिन प्रदर्शन गर्ने परम्परा रहेको मध्यपुरथिमिका वरिष्ठ परम्परागत वाद्यवाधन तथा नाचका गुरु श्रीगोपाल प्रजापतिले बताउनुभयो । सोहीअनुसार शनिबार यो प्याखँ प्रदर्शन गरिएको थियो ।

प्रत्येक वर्ष ययाँ पुन्हीअर्थात इन्द्रजात्राको अवसरमा मध्यपुर थिमिकै नगदेशमा निकालिने पुलुकिसी र भक्तपुरको टौमढीबाट निकालिने पुलुकिसी जात्राभन्दा माघको भिमा एकादशीको अवसरमा निकालिने पुलुकिसी प्याखँ पृथक नाच भएको मध्यपुरथिमि क्षेत्रका वरिष्ठ गुरु प्रजापतिले बताउनुहुन्छ ।

यो प्याखँको परम्पराअनुसार मध्यपुर थिमि–४, बालकुमारीस्थित वामुने टोलबाट पुलुकिसी प्याखँ निकालिएको थियो । वामुनेस्थित माधवनारायणको मन्दिरमा पुरोहितले परम्परागत पूजा गरेपछि पुलुकिसी प्याखँ शुरु भएको थियो । पुलुकिसी प्याखँ बालकुमारी, लाय्कु, दुईपोखरी, दिगुटोल, हात्ती महांकाल, चपाचो, गुंगचिवा, बहाखाबजार हुँदै भिमसेनचोक पुगेर सोही बाटो हुँदै पुनः बालकुमारीमा आएर समापन भएको थियो ।

यो प्याखँ निकाल्नका लागि हात्तीमाथि चढ्ने एकजना राजा, हात्तीको माउते एकजना, हात्तीको सवारी चलाउने बाटो सरसफाइ गर्न दुई महिला र दुई पुरुषको आवश्यकता पर्दछ । त्यसैगरी, हात्तीको भित्र एक पटकमा चारजना मानिस बस्नु पर्दछ भने नाच प्रदर्शन गर्दा नायखीँ बाजा, छुस्या बाजा बजाउने वाद्यवाधक र मुहाली (सहनाई) बजाउने कसुलेसमेतको आवश्यकता पर्दछ । साथै टाउकोमा सहस्रधारा बोकेर ठाउँठाउँमा पानी थाप्ने व्रतालुको पनि आवश्यकता पर्दछ ।

यस वर्ष हात्तीमाथि चढेर राजेश कुटु राजा बनेका थिए । त्यसैगरी गणेशमान कुटु माउते बनेका थिए भने रोहित कुटु, रोनिस कुटु, सन्दिप कुटुलगायतका कलाकारले विभिन्न भूमिका निर्वाह गरेका थिए । रमेश प्याथ, राज कुुटु, सुजिन कुटु र कृष्ण कुटुलगायतले सहस्रधारा बोकेर पानी थाप्ने कार्य गरेका थिए । सुजेश कुटु, कृष्णबहादुर कुटु, रामकृष्ण कुटु, लक्ष्मीबहादुर कुटुलगायतले बाजा बजाएको पुलुकिसी प्याखँ व्यवस्थापन समितिका अध्यक्ष तुल्सीराम कुटुले बताउनुभयो ।

यो प्याखँमा हात्तीमाथि चढेर राजाको भूमिका निर्वाह गर्न स्थानीय कुटु थरकाले मात्र पाउँछन् । कुटुमा पनि दुई समूह हुन्छन् । एकथरि विश्वकर्मा मान्ने, अर्काथरि विश्वकर्मा नमान्ने । “यो प्याखँमा विश्वकर्मा मान्ने कुटुले हात्तीमाथि चढेर राजा बन्न नपाउने व्यवस्था रहेको छ ,” अध्यक्ष तुल्सीरामले भन्नुभयो ।

आठ वर्ष अघि रत्नमान कुटु राजा बनेका थिए । त्यसभन्दा अघि तुल्सीराम कुटु, सुन्दर कुटु, तेजमान कुटु र लक्ष्मीबहादुर कुटुलगायत राजा बनेर पुलुकिसी प्याखँ सञ्चालन गरेको इतिहास रहेको अध्यक्ष तुल्सीरामले जानकारी दिनुभयो ।

पुलुकिसी बाँसबाट बनाइन्छ । अगाडि हात्तीको आकृतिको मुकुण्डो र पछाडि बाँसको जीउ बनाई त्यसमाथि मानिस बस्न मिल्ने गरी कपडा राखी हात्ती तयार गरिन्छ । यस वर्ष हात्ती निर्माण गर्न मात्रै झण्डै रु ५० हजार खर्च भएको अध्यक्ष तुल्सीरामले बताउनुभयो । उहाँले भन्नुभयो, “राजाको पोशाक, मुहाली बजाउने कसुलेको पारिश्रमिक र परम्पराअनुसारको भोजका लागि समेत गरी करिब दुई लाख ५० हजार खर्च भयो ।”

यो प्याँख सञ्चालनका लागि कुनै सरकारी आयस्ता वा कुनै गुठीको व्यवस्था गरिएको छैन । जो व्यक्ति हात्ती चढेर राजा बन्छ, उसैले सम्पूर्ण खर्च व्यहोर्नुपर्ने परम्परा रहेको छ । यो पुलुकिसी प्याखँ निकाल्ने क्रममा आयोजना गरिने भोजमा जो सुकै आए पनि खुवाउनु पर्ने परम्पराले गर्दा पनि अनावश्यक रुपमा आर्थिक भार बढ्न थालेपछि राजा बन्न कोही अग्रसर नभएकाले पुलुकिसी प्याँखले नियमितता नपाएको वरिष्ठ गुरु प्रजापति बताउनुभयो ।

विगतमा पुलुकिसी प्याखँ निकाल्ने राजाले सहभागीलाई बिहानको खाना, दिउँसो र बेलुका भोज खुवाउनु पर्ने परम्परा रहेको बताउँदै उहाँले भन्नुभयो, “विगतमा आफूले भोजको सट्टा बेलुका एक छाक भात खाएर प्याखँ समापन गर्ने परम्परा बसाउन प्रयास गरे पनि सफल हुन सकिनँ ।”

यो वर्ष पुलुकिसी प्याखँ निकाल्न स्थानीय सागबारीका बासिन्दाले स्वेच्छाले आर्थिक सहयोग उपलब्ध गराएको अध्यक्ष तुल्सीरामले बताउनुभयो । “आर्थिक सहयोगका लागि नगरपालिकालाई पनि अनुरोध गरेका छौँ । प्याखँको प्रदर्शनपछि खर्चको बिल भपाई पेश गरे आवश्यक सहयोग गर्ने वचनबद्धता नपाले गरेको छ ।” उहाँले भन्नुभयो ।

पुलुकिसी प्याखँको बारेमा प्रचलित किंवदन्ती श्रीस्वस्थानी व्रतकथाको नवराज राजाको कथासँग मिल्दोजुल्दो रहेको वरिष्ठ गुरु प्रजापतिले बताउनुभयो । उहाँका अनुसार एकजना गरिब ब्राह्मण आफ्ना स्वर्गवासी पिताको काजक्रिया समेत गर्न नसकेपछि धन कमाउन परदेश हिँड्छन् । उनी जाँदाजाँदा लावण्य देशमा पुग्छन् । त्यहाँ पुग्दा शहरभरि हर्षोल्लासको वातावरण, जताततै खुशी र मानिसको लावालस्कर देख्छन् ।

त्यस देशमा राजाको मृत्यु भएको र राजाको कुनै सन्तान नभएका कारण हात्तीलाई राजा खोज्न पठाइरहेको अवस्थामा लावण्य देशका राजा बन्न लालायित देशवासी सजिसजाउ भएर हात्तीको अघिपछि हिँड्दै थिए । ती गरिव ब्राह्मण एक कुनामा बसेर हात्तीको चर्तिकला हेर्दै थिए । यतिकैमा हात्ती उनको नजिक आएर उनैलाई माला लगाई दिएर लावण्य देशको राजा बनाए ।

एउटा गरिब झुत्रा लुगा लगाएका ब्राह्मणलाई हात्तीले फूलमाला लगाएर राजा चुनेपछि त्यस देशका भ्रद्र भलाद्मीले हात्ती बौलाएछ भनेर तथानाम गाली गर्न थालेछन् । तर केही विद्वान्ले हात्तीले राजा बन्न लायक गुण भएका युवकलाई राजा चुनेको भन्दै ती ब्राह्मणलाई दरबारमा लगेर राज्याभिषेक गर्न खोज्दछन् । त्यसबेलामा ती ब्राह्मणले राज्याभिषेकका लागि आफ्नी आमा र श्रीमतीलाई ल्याउनुपर्ने शर्त राख्दछन् ।

सोअनुसार लावण्य देशका सिपाही गएर ब्राह्मणका माता र शालीनदी किनारमा रहेका उनका श्रीमतीलाई समेत लिएर जान्छन् र भव्यरुपमा राज्याभिषेक हुन्छ । ती ब्राह्मण राजा भएपछि हात्ती माथि चढेर नगरपरिक्रमा गरेको सन्दर्भ नै पुलुकिसी प्याँख भएको वरिष्ठ गुरु प्रजापतिले बताउनुभयो । सोही सन्दर्भलाई प्याखँको रुप दिएर तत्कालीन मल्लकालदेखि यो प्याखँ शुरु भएको उहाँको कथन रहेको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh