बार्सिलोनाले मालागालाई २-० को गोलले हराए

मालागा,२७ फागुन:  जारी स्पेनिस ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोनाले मालागालाई गए राति २-० को गोलअन्तरले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेज र फिलिप कौटिन्होले गोल गरे ।

बार्सिलोनाले खेलको १५ औं मिनेटमा लुइस स्वारेजको गोलमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै पहिलो हाफकै २८ औं मिनेटमा फिलिप कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरेका थिए । ३० औं मिनेटमा मालागाका सामु गार्सियाले जोर्डि अल्बालाई गरेको ट्याकलमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

यस खेलमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी पारिवारिक कारणले उपस्थित थिएनन् । यस जितसँगै २८ खेलमा बार्सिलोनाको ७२ अंक रहेको छ । दोस्रोमा रहेको र एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडभन्दा बार्सिलोना ११ अंक अगाडि रहेको छ ।

 

(एजेन्सी) –