सेवासुविधाबारे ऐनको मस्यौदा बन्दै

धनगढी, २६ फागुन: प्रदेश नं ७ सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधा तोक्ने विषयमा ऐनको मस्यौदा बनाउन थालेको छ ।

मस्यौदा तयार पार्ने जिम्मा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रदीपराज कँडेलले बताउनुभयो । प्रदेश सरकारले फोहरमैलाको व्यवस्थापन, स्वास्थ्य क्षेत्रको प्रवद्र्धन, खानेपानीको व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणलगायतमा जोड दिएर काम अघि बढाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार पदाधिकारीले पाउने पारिश्रमिक सेवा सुविधा निर्धारण गरिसकेको छ ।

पारिश्रमिक सुविधा

१ मुख्यमन्त्रीको आवास सुविधाबाहेक मासिक रु ६२ हजार ९७०

२ प्रदेशमन्त्रीको आवास सुविधाबाहेक मासिक रु ५४ हजार

३ सभामुखको आवास सुविधाबाहेक मासिक रु ५६ हजार ५००

४ उपसभामुख र विपक्षी दलका नेताको आवास सुविधासहित मासिक रु ६५ हजार २५०

५ सचेतक र समितिका सभापतिको आवास सुविधासहित मासिक रु ६२ हजार ७००

६ प्रदेश सदस्यको आवाससहित मासिक रु ५९ हजार

७ मुख्य न्यायाधिवक्ताको इन्धनबाहेक मासिक रु ९४ हजार

प्रदेश सरकारको छुट्टै सञ्चितकोष रहने व्यवस्था भएबमोजिम आर्थिक ऐन, विनियोजन ऐन, पेश्की ऐनजस्ता ऐनको मस्यौदाको तयारी मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिमा आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्न लागेको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh