नेपालीले अष्ट्रेलियामा होली मनाएर, फोहोर पारेपछि स्थानीय मेयर आक्रोशित

काठमाडौँ, २३ फागुन : अष्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा होलीको अवसरमा कार्यक्रम आयोजना गरेर नेपाली समुदायले फोहोरको डंगुर छोडेपछि सो स्थानका मेयरले आइन्दा यस्ता ‘फोहोरी कार्यक्रम’ आयोजना गर्न नदिइने बताएका छन्।

बेसाइडका मेयर बिल साराभिनोव्स्कीले रकडेल बाइसेन्टेनियल पार्कलाई ‘फोहोर फाल्ने खाल्डो’ जस्तै बनाएर छोडेकोमा सो कार्यक्रमका आयोजकको आलोचना गरेका हुन्।

गत मार्च ३ शनिबारका दिन त्यहाँ होली मनाइएको थियो। ‘रकडेल कलर फेस्टिवल’ नाम दिइएको सो कार्यक्रमको आयोजना कमेरो इभेन्ट्स नामक संस्थाले गरेको थियो।

कार्यक्रम सकेपछि उनीहरुले फोहोर सफा नगरी सो स्थान छोडेका थिए।

आइतबार बिहान स्थानीयबासी पार्कमा पुग्दा त्यहाँको हालत देखेर चकित भएको स्थानीय सेन्ट जर्ज एन्ड सदरल्याण्ड सायर लिडरले जनाएको छ। केहीले यसबारे सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् भने केहीले नगर परिषदमा यो विषयमा उजुर पनि दिएका थिए।

भोलिपल्ट आयोजकका तर्फबाट केही मानिस पार्क सफा गर्न गए पनि त्यो पर्याप्त नभएको बताउँदै आयोजकमाथि जरिवाना लगाइएको थियो।

बेसाइड काउन्सिलले पार्क भाडामा दिँदाका सर्तहरुको अध्ययन गरिने जनाएको छ।

‘म यसबारेमा साह्रै निराश छु। क्लिन अप अष्ट्रेलिया डेमै हाम्रो मुख्य पार्क कसरी फोहोर फाल्ने खाल्डोजस्तो बनाइयो, म जान्न चाहन्छु,’ मेयरको भनाइ लिडरले उधृत गरेको छ।

आयोजक कमेरो इभेन्टले यसबारेमा आफ्नो फेसबुक पेजमार्फत् माफी मागेको छ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh