राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु

कञ्चनपुर, २३ फागुन :  भाषा आयोगको विज्ञ टोलीले कञ्चनपुरमा राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु गरेको छ ।

राना थारू भाषाको पाठ्यपुस्तक विद्यालयमा लागू गर्न उपयुक्त छ–छैन भन्ने बारे अनुसन्धान गर्नका लागि भाषा आयोगको टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेका विद्यालयमा अनुसन्धानको कार्य शुरु गरेको हो ।

लालझाडी गाउँपालिकामा ९९ प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ । विद्यालयमा पठनपाठनका सामग्री कस्ता छन्, शिक्षकले विद्यार्थीलाई पढाएको कुरा बुझे÷नबुझेको र उनीहरुको अभिरुचिका बारे यहाँ रहेका २४ वटा विद्यालयमा टोलीहरु खटाएर अध्ययनको कार्य भइरहेको भाषा आयोगका उपसचिव गणेशप्रसाद भट्टराईले बताउनुभयो । देशभरिमा दशवटा गाउँपालिका मातृभाषामा पढाइ शुरु गर्नका लागि छनोट गरिएका छन् जसमध्ये प्रदेश नं ७ को कञ्चनपुरको लालझाडी गाँउपालिका छनोटमा परेको हो ।

अनुसन्धानका क्रममा आधारभूत तहको कक्षा ३ सम्म नेपाली, गणित र विज्ञान लगायतका सबै विषय मातृभाषामा पढाइ गर्न सकिने देखिएको उपसचिव भट्टराईले बताउनुभयो । “यसका लागि गाउँपालिकाका अध्यक्षसमेत सकारात्मक देखिनुभएको छ,” उहाँले भन्नुभयो । गाउँपालिकाका अध्यक्षले राना भाषामै पढाइको व्यवस्था मिलाउन सकिने आश्वासन दिएको उहाँको भनाइ रहेको छ ।

आयोगको टोलीले गाउँपालिकामा रहेका २४ वटै विद्यालयमा राना थारू भाषाको पाठ्यपुस्तक लागू गर्नका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राना थारू अगुवा, शिक्षक, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत सँग छलफलसमेत गरेको छ । टोलीमा भाषा आयोगका उपसचिव भट्टराई, भाषाविज्ञ डा डिल्लीराम रिमाल र भाषा आयोगका लेखा अधिकृत दावा शेर्पालगायत रहनुभएको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh