प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सञ्चालन

काठमाडौं, २२ फागुन :  प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे एकैसाथ सञ्चालन हुने भएको छ । हिजो छुट्टाछुट्टै बसेको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेपछि दोस्रो बैठक आजका लागि बोलाइएको हो ।

संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको आजको बैठकको मुख्य कार्यसूची प्रधानमन्त्रीले विश्वासको मत लिने मितिसँगै सभामुख चयनको मितिसमेत तय गर्ने रहेको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै बैठकले प्रतिनिधिसभाको सभामुख निर्वाचन र राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सभामुखको निर्वाचनका लागि २६ फागुनको मिति तय गर्ने विषयमा राजनीतिक सहमति जुटिसकेको छ भने राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनका लागि ३० फागुनको मिति तोक्ने विषयमा सहमति यसअघि नै जुटेको छ । त्यही सहमती अनुसार आज प्रस्ताव पेस भई पारित हुने बताइएको छ ।