चीनले आफ्नो रक्षा बजेटको घोषणा गरे

२२ फागुन, काठमाडौं:  चीनले आफ्नो रक्षा बजेटको घोषणा गरेको छ ।सैनिक सेवामा १ दशमलव ११ ट्रिलियन युआन अर्थात् एक सय ७५ अर्ब डलर खर्च गर्न गइरहेको छ ।  चीन आफ्नो सेनाको आधुनिकीकरणमा भारतभन्दा तीनगुणा बढी खर्च गर्न लागिरहेको छ ।समाचार एजेन्सी पिटिआईका अनुसार

भारतको तुलनामा चीनको यो रकम निकै ठूलो हो । भारतले आफ्नो पछिल्लो बजेटमा रक्षा क्षेत्रका लागि ४६ अर्ब डलर छुट्याएको छ ।

अहिले एक युआनको मूल्य १० दशमलव २६ भारतीय रुपैयाँ भएबाट यो रकम कति धेरै छ भन्ने अनुमान लगाउन सकिन्छ । चीनले यसपटक पछिल्लो वर्षको तुलनामा आफ्नो रक्षा बजेट आठ प्रतिशतले बढाएको छ । बेइजिङमा चिनियाँ संसद्को बैठकका क्रममा यसको घोषणा गरिएको हो ।

हालै इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिज (आइआइएसएस) का विशेषज्ञहरूले भनेका थिए– अब अमेरिकाले आफ्नो सेनाको सामना रुससित होइन, चीनसित गर्नेछ, विशेषगरी समुद्र र हावामा । अर्थात् चीनको नेभी र वायु सेना अमेरिकालाई टक्कर दिने तयारीमा छ । यसअघि पनि चीनको सेना संसारकै सबैभन्दा शक्तिशाली सेनाका रूपमा चर्चित रहेको शंका छैन ।

१९५९ देखि संसारभरका देशमा सैन्य तयारीमा हुनेवाला खर्चमा निगरानी राख्ने संस्था आइआइएसएसका विशेषज्ञको मात्र यस्तो राय रहेको होइन, अन्य कैयौँ जानकारको पनि यस्तै विचार छ । चिनियाँ सेनाको आधुनिकीकरण र प्राविधिक दक्षताको सामना गर्न सक्ने अर्को कुनै सेना नभएको विशेषज्ञहरूको भनाइ छ ।

 


प्रधानमन्त्री ली खछ्याङले चीनका लागि ६.५ प्रतिशत विकास दरको लक्ष्य पनि राखेका छन् । यससँगै नेसनल पिपल्स कंग्रेसको यस बैठकले राष्ट्रपति पदका लागि अधिकतम दुई कार्यकालको सीमा अन्त्य गर्ने घोषणा गर्न सक्ने अनुमान गरिँदै छ । यस्तो भयो भने सी जिनपिङलाई अनिश्चितकालसम्म राष्ट्रपति पदमा कायम रहने बाटो खुला हुनेछ । यस कदमको लामो समयदेखि अपेक्षा गरिँदै थियो ।

तर, चीनमा यस विषयलाई लिएर विवाद पनि छ । माओ त्से तुङपछि सी जिनपिङ चीनका सबैभन्दा शक्तिशाली नेता बन्ने मार्गमा अघि बढिरहेका छन् । ११ मार्चमा नेसनल पिपल्स कंग्रेसको बैठकमा यसबारे औपचारिक प्रस्ताव ल्याउन सकिन्छ र यो सर्वसम्मतिबाट पारित हुने अपेक्षा गरिँदै छ ।

नेसनल पिपल्स कंग्रेसलाई संसारमै एक रबर स्ट्याम्प संसद्का रूपमा हेर्ने गरिन्छ, जसले कम्युनिस्ट पार्टीका प्रस्तावलाई स्वीकृति दिने गर्छ । प्राविधिक रूपबाट नेसनल पिपल्स कंग्रेसका तीन हजार प्रतिनिधि चीनका अलग–अलग प्रान्त र क्षेत्रबाट निर्वाचित हुन्छन् । तर, यथार्थमा यिनलाई पार्टीले चुन्ने गर्छ ।

पछिल्लो वर्ष चीनले आफ्नो रक्षा बजेट सात प्रतिशतले बढाएर १५०.५ अर्ब डलर बनाएको थियो । अमेरिकापछि रक्षा बजेटमा सबैभन्दा बढी खर्च गर्नेमा चीन दोस्रो देश हो । जानकारहरूका अनुसार चीन थप दुई विमानवाहक जहाज बनाउने तयारी गरिरहेको छ । यसका अतिरिक्त नयाँ जेट लडाकु विमान र स्टिल्थ फाइटर जे—२० लाई पनि समावेश गर्ने विषयमा तयारी भइरहेको छ ।

चीनको सरकारी मिडियाका अनुसार पछिल्ला दुई वर्षमा रक्षा बजेटमा वृद्धिको सिलसिला जारी छ । र, यसका साथै रक्षा बजेटमा यस वृद्धिलाई सही ठहर्याइएको छ । नेसनल पिपल्स कंग्रेसका प्रवक्ता झाङ येसुईका अनुसार अन्य ठूला देशको तुलनामा चीनको रक्षा बजेट उसको गार्हस्थ उत्पादन र देशको कुल खर्चको एक सानो भाग मात्र हो ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)