योद्धाका नामबाट सडकको नामकरण

कञ्चनपुर, २१ फागुन : सशस्त्र जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट वीरगति प्राप्त गरेका योद्धाका नामबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका सडकको नामकरण गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) नगरस्तरीय कमिटीले वडा नं २ र ३ मा रहेका सडक योद्धाका नामबाट नामकरण गरेको हो । वडा नं २ मा रहेको गुल्लरपट्टि टोललाई प्रकाश टोल नामाकरण गरिएको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो । त्यस्तै वडाभित्र रहेका नौ सडकको नामसमेत सशस्त्र द्वन्द्वका क्रममा मारिएका व्यक्तिका नामबाट राखिएको छ । “अमरसिं, अभ्यास, स्पात, आकृति, विन्तिराम, पातल, धनसिंह, अरुण, वन्दनालगायतका नामबाट सडकको नाम नामाकरण गरेका छौँ”, उहाँले भन्नुभयो ।

यसैगरी वडा नं ३ मा रहेका चार चोकको नाम पनि फूलमति, सपना, प्रकाश र गगनका नामबाट नामकरण गरिएको छ । सशस्त्र जनयुद्धमा शहीद तथा बेपत्ता योद्धा परिवारका ४२ जनालाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

शुक्लाफाँटामा भौतिक पूर्वाधार निर्माण
एशियाली विकास बैंकबाट प्राप्त ऋण सहयोगमा सरकारले उपलब्ध गराउने अनुदान रकमबाट शुक्लाफाँटा नगरपालिकामा भौतिक पूर्वाधार विकासको काम अगाडि बढाइने भएको छ । क्षेत्रीय हहरी विकास आयोजनामार्फत रु ९६ करोडको लागतमा भौतिक पूर्वाधार विकासका काम अगाडि बढाइने नगरपालिकामा आज आयोजित क्षेत्रीय आयोजना शुभारम्भ कार्यशाला गोष्ठीमा आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले बताउनुभयो ।

शहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकामा कार्यालय भवन निर्माण, एकीकृत फोहरमैला व्यवस्थापन, सडक तथा ढल सुधार र फोहर पानी व्यवस्थापनको काम गरिने छ । आयोजना सन् २०१८ देखि २०२२ सम्म सञ्चालन हुनेछ । प्रदेश नं ७ का चार स्थान र नेपालगञ्ज, सिद्धार्थनगर, वीरगञ्ज र विराटनगरमा समेत आयोजना सञ्चालनमा छ । आठवटै क्षेत्रमा आयोजनाको कुल लागत रु २१ अर्ब १४ करोड छ ।  (रासस) 

Online Shopping in BangladeshCheap Hotels in Bangladesh