चौतारी राससबाट बास्तोला र पाठकलाई सम्मान– पुरस्कार

rss

काठमाडौँ, २१ फागुन : प्रेस चौतारी नेपाल, रासस शाखाले यस वर्षको ‘प्रेस चौतारी रासस सम्मान’ प्रदेश नंं ४ कार्यालय, पोखराका हरि बास्तोला र ‘प्रेस चौतारी रासस क्रियाशील पत्रकारिता पुरस्कार’ केन्द्रीय कार्यालयका स्थानीय संवाददाता शर्मिला पाठकलाई प्रदान गर्ने भएको छ ।

चौतारी राससको आज बसेको बैठकले राससका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालको संयोजकत्वमा बनेको सम्मान तथा पुरस्कार छनोट समितिले सिफारिश गरेकालाई अनुमोदन गर्दै सम्मान बास्तोला र पुरस्कृत पाठकलाई गर्ने निर्णय गरेको हो । बास्तोला करीव तीन दशकदेखि राससमा क्रियाशील हुनुहुन्छ भने पाठक पाँच वर्षदेखि राससमा सक्रिय रुपमा काम गर्दै आउनुभएको छ ।

चौतारी राससले यसअघि राससका तत्कालीन नायब महाप्रबन्धक सरला संग्रौला, नायब महाप्रबन्धक सुरेन्द्र नेपाली र वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाललाई सम्मान तथा राससका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराई, झापाका स्थानीय संवाददाता चन्द्रकला भण्डारी, नवलपरासीका संवाददाता विद्रोही गिरी, महोत्तरीका संवाददाता गोपाल बराल र पर्वतका संवाददाता लक्ष्मीप्रसाद सापकोटालाई पुरस्कार प्रदान गरिसकेको छ ।

सम्मान तथा पुरस्कार छनोट समितिमा रिमालको संयोजकत्वमा पूर्वअध्यक्ष प्रकाश सिलवाल र कालिका खड्का तथा अध्यक्ष कृष्णराज गौतम रहनुभएको थियो । चौतारी राससले प्रत्येक वर्ष सम्मान तथा पुरस्कार आफ्नो स्थापना दिवस चैत ३ गते प्रदान गर्दै आएको छ । (रासस)