रानीपोखरी पुनः निर्माणलाई लिएर इन्जिनियर र ठेकेदारविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं, फागुन २१ :  रानीपोखरी पुनः निर्माणलाई लिएर पुरातत्त्व विभागका इन्जिनियर र ठेकेदारविरुद्ध प्रहरीमा उजुरी परेको छ।

रानीपोखरी बचाउ अभियानका अभियन्ताले उनीहरुविरुद्ध अाइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन्।

पुरातत्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिकाका भौतिक पूर्वाधार विकास विभागका निर्देशक उत्तरकुमार रेग्मी र निर्माण कम्पनी वल्डवाइड जेभिका ठेकेदार अर्जुन कँडेलविरुद्ध जाहेरी दिइएको छ। उनीहरुविरुद्ध सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा १ बमोजिम फौजदारी मुद्दा दायर गरिएकाे छ।

रानीपोखरी बचाउने अभियनाका अभियन्ताहरुले परिसरमा जाहेरी दिएको तर अध्ययन गरेर मात्र दर्ता प्रकृयाअगाडि बढ्ने परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर थापाले बताए। प्रताप मल्लकालीन रानीपोखरीको निर्माणकार्य पुरानै शैली/स्वरुपमा बन्नु पर्ने र अहिलेसम्मकाे पुन: निर्माणको कार्य गर्दा मासिएको सम्पदाबमोजिमको कारबाही हुनु पर्ने माग राख्दै जाहेरी गर्ता गराएको अभियानका अभियन्ता काठमाडौं ल क्याम्पसमा विद्यार्थी सन्जय अधिकारीले बताए।

अभियन्ताहरुले विभिन्न स्थानबाट ल्याएर बनाएको रानीपोखरीको धार्मिक जललाई फ्याँकिएको छ, डोजरको प्रयोग, कंक्रिट वाल लगाइएकोले छ त्यो मल्लकालीन जस्तै नहुने बताएका छन्।

रानीपोखरी निर्माण गर्दा काठमाडौं महानगरपालिकाले कंक्रिट हालेर काम अघि बढाएपछि पुरातात्विक सम्पदा विनाश भएको भन्दै चौतर्फी आलोचना भएको छ। इतिहासमा उल्लेख भएअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी ०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको हो।