चेल्सी विरुद्ध विजयी म्यानचेस्टर सिटी

म्यानचेस्टर , २१ फागुन :  प्रिमियर लिग अन्तर्गत साविक विजेता चेल्सी म्यानचेस्टर सिटीविरुद्ध १-० ले पराजित भएको छ । सिटीका लागि निर्णायक गोल मिडफिल्डर बर्नार्डो सिल्भाले गरेका थिए ।

सिटीले पहिलो हाफमा अधिकांश नियन्त्रण लिए पनि गोल गर्न भने असफल भएको थियो । लेरोय सानेको प्रहार चेल्सीका डिफेन्डर सेजार एज्पिलीक्वेटाले गोललाइनबाट क्लियर पनि गरेका थिए ।

तर दोस्रो हाफको सुरुवाती मिनेटमै सिटीले चेल्सीको डिफेन्सको तोड निकाल्यो । डेभिड सिल्भाको पासलाई बर्नार्डो सिल्भाले परिणत गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । भिक्टर मोसेजले दोस्रो हाफमा पाएको अवसर चेल्सीको एक मात्र ठूलो अवसर थियो जुन उनले बाहिर प्रहार गरेका थिए ।

यस नतिजासँगै सिटी २९ खेलमा ७८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा सिटी १८ अंकले अगाडी रहेको छ । अर्को तर्फ चेल्सीको सोहि खेलबाट ५३ अंक रहेको छ र साविक विजेता चेल्सी लिगको पाँचौं स्थानमा रहेको छ ।

 

(एजेन्सी) –